Skip to main content

राष्ट्र बैंकका पूर्व गभर्नरहरू: धितो बिक्री गरेर कर्जा असुली गर्नु इन्भेस्टमेन्ट बैंकको गल्ती होइन

पूर्व गभर्नरहरूले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले कानुन अनुसार धितो बिक्री गरेर कर्जा असुली गर्दा ठगी मुद्दा लागेको भन्दै राष्ट्र बैंक मौन बसेको आरोप लगाएका छन्। स्मार्ट टेलिकमको धितो लिलाम गरी कर्जा असुली गरिएको विषयमा एनआईएमबीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र कर्मचारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। पूर्व गभर्नरहरूले यस्ता घटनामा राष्ट्र बैंकले सुरुवाती अनुसन्धान गर्नुपर्ने र सार्वजनिक रूपमा स्पष्टता दिनुपर्ने, नभए बैंकिङ क्षेत्रमा मनोबल कमजोर हुने बताएका छन्। २ भदौ, काठमाडौं।

नेपाल राष्ट्र बैंकको कमजोरीका कारण एनआईएमबीका सञ्चालक तथा व्यवस्थापन प्रमुखले कर्जा असुली गर्दा ठगीको मुद्दा खेप्नुपरेको पूर्व गभर्नरहरूले बताएका छन्। निक्षेपकर्ताको निक्षेप सुरक्षाका लागि कानुन अनुसार धितो बिक्री गरिएको अवस्थामा पनि प्रहरीले मुद्दा चलाएको भन्दै त्यसमा केन्द्रीय बैंकले हस्तक्षेप नगर्नु अनपेक्षित रहेको चार पूर्व गभर्नरहरूको निष्कर्ष छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र सुरक्षित कारोबार सम्बन्धी ऐन २०६३ अनुसार बैंकले स्मार्ट टेलिकमको चल सम्पत्ति बिक्री गरी कर्जा असुली गरेको थियो।

बैंकले धितो लिलाम गरी कर्जा असुली गरेको विषयमा नेपाल प्रहरीले मुलुकी फौजदारी संहिताअनुसार ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा अनुसन्धान गरी सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। प्रचलित कानुन र केन्द्रीय बैंकको निर्देशनअनुसार गरिएको कामलाई फौजदारी अभियोगमा अनुसन्धान र मुद्दा दायर गर्न लाग्दा राष्ट्र बैंकले अभिभावकीय भूमिका निभाउन सकेन भन्नेमा पूर्व गभर्नरहरू एकमत छन्।