भिक्टोरियाले विल सदरल्यान्ड नेतृत्वमा टप एन्ड टी-२० सिरिजका लागि बलियो टोली घोषणा गर्यो

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा आयोजना हुन लागेको टप एन्ड टी–२० सिरिजका लागि भिक्टोरिया सीए–११ ले विल सदरल्यान्डको कप्तानीमा एक बलियो टोली घोषणा गरेको छ। यो टोलिमा अस्ट्रेलियाका पूर्व टेस्ट खेलाडी अफस्पिनर टोड मर्फी र बिग ब्यास लिगका चर्चित खेलाडीहरू साम हार्पर, ह्यारी डिक्सन, टम रोजर्स, क्यालम स्टो र क्याम्पबेल केलावे जस्ता खेलाडीहरू समावेश छन्। भिक्टोरियाले नेपाल ए टोलीसँग प्रतिस्पर्धा गर्ने छ, जहाँ नेपालले आगामी अगस्ट २९ मा भिक्टोरिया सीए–११ विरुद्ध खेल्ने तालिका बनाइएको छ।
सदरल्यान्डले भिक्टोरियाको टोलीको नेतृत्व गर्ने छन्। उनी अस्ट्रेलियाको राष्ट्रिय टीमबाट ओडीआई खेलिसकेका एक सक्षम अलराउन्डर हुन् र बिग ब्यास लिगमा मेलबर्न रेनेगेड्सको कप्तान पनि हुन्। टोलीमा समावेश अफस्पिनर टोड मर्फीले अस्ट्रेलियाका लागि टेस्ट क्रिकेटमा बृहत योगदान पुर्याइसकेका छन् र भिक्टोरियाको बलिङ आक्रमणमा मुख्य भूमिका निर्वाह गर्ने छन्।
भिक्टोरियाको टोलीमा बिग ब्यास लिगका अन्य प्रसिद्ध खेलाडीहरू साम हार्पर, ह्यारी डिक्सन, टम रोजर्स, क्यालम स्टो र क्याम्पबेल केलावे पनि रहेका छन्। ती खेलाडीहरूको सहभागिताले टोलिलाई टप एन्ड टी–२० सिरिजमा एक प्रबल प्रतिस्पर्धी बनाउन मद्दत पुर्याएको छ। साथै माइकल आर्चर, अस्टिन एन्जेलजार्क, लियाम ब्ल्याकफोर्ड, साम इलियट, ह्यारी होक्स्ट्रा, ब्लेक म्याकडोनाल्ड, आर्यन शर्मा र ब्रोडी सिमोन्स पनि टोलीमा रहेका छन्।
भिक्टोरिया सीए–११ टोली सूची: विल सदरल्यान्ड (कप्तान), माइकल आर्चर, अस्टिन एन्जेलजार्क, लियाम ब्ल्याकफोर्ड, ह्यारी डिक्सन, साम इलियट, साम हार्पर, ह्यारी होक्स्ट्रा, क्याम्पबेल केलावे, ब्लेक म्याकडोनाल्ड, टोड मर्फी, टम रोजर्स, आर्यन शर्मा, क्यालम स्टो र ब्रोडी सिमोन्स।






