
४६ वर्षका ब्राजिली फुटबलर रोनाल्डिन्होले इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट पुनः व्यावसायिक फुटबलमा फर्कने घोषणा गरेका छन्। उनले करियरको ३००औं गोल गर्ने लक्ष्य राख्दै आफू अझै उत्कृष्ट शारीरिक अवस्थामा रहेको बताए। क्लब मालिक इग्नाजियो सिप्रियानीले रोनाल्डिन्होको आगमन टोलीलाई सफल बनाउने उद्देश्यले भएको बताएका छन्। ५ भदौ, काठमाडौं।
ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै आफ्नो करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताए। सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन्। उनले खेलाडीका रूपमा मात्र हैन, क्लबका शेयरधनी पनि बन्ने भएका छन्। राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ सार्वजनिक भएपछि उनले आफुलाई अझै राम्रो शारीरिक अवस्थामा रहेको बताए।
‘यदि मैले करियरको ३००औं गोल गर्न सकें भने त्यो अझै सुन्दर हुनेछ,’ रोनाल्डिन्होले भने। क्लबका मालिक इग्नाजियो सिप्रियानीले भने, रोनाल्डिन्होको आगमन प्रचारका लागि नभई टोलीलाई सफल बनाउनको लागि भएको दाबी गरेका छन्। उनका अनुसार रोनाल्डिन्होको उद्देश्य अन्तिमपटक मैदानमा उत्रेर सम्झनलायक गोल गर्नु हो। रोनाल्डिन्होले सन् २००२ मा ब्राजिललाई विश्वकप जिताएका थिए भने २००५ मा बालोन डी’ओर पुरस्कार पनि जितिसकेका छन्। बार्सिलोना, पेरिस सेन्ट-जर्मेन र एसी मिलानबाट खेल्दै उनले विश्व फुटबलका सर्वकालीन उत्कृष्ट खेलाडीहरूमा आफ्नो स्थान बनाएका छन्। राभेनाले गत सिजन सिरी सीको समूह ‘बी’ मा तेस्रो स्थान हासिल गर्यो र यस पटक सिरी बीमा बढुवा हुने लक्ष्य राखेको छ।






