भोटेकोशी-त्रिशूली बाढी: दुई यातायात कम्पनीका ४१ यात्रुवाहक सवारीसाधन बेपत्ता

बुधबार विहान भोटेकोशी-त्रिशूली क्षेत्रमा अचानक आएको विनाशकारी बाढीले दुई वटा यातायात कम्पनीका ४१ यात्रुवाहक सवारीसाधन बेपत्ता भएको औपचारिक जानकारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बीबीसीलाई जानकारी दिनुभयो। अरनिको यातायात सेवा समितिका २६ वटा बस र नमस्ते पासाङल्हामु यातायात प्रालिका १५ वटा माइक्रोबस हराइरहेका छन्।
“अरनिको यातायातका बेपत्ता २६ वटा बसका चालकमध्ये तीन जना मात्र सम्पर्कमा आएका छन् भने पासाङल्हामु यातायातका १५ माइक्रोबसका चालकमध्ये दुई जनाले सम्पर्क गरेका छन्,” उहाँले भन्नुभयो। “सामान्यतया एउटा बसमा एक/एक जना चालक र सहचालक हुने भएकाले अरनिको यातायातका बसमा ५४ जना चालक तथा सहचालक र पासाङल्हामुको माइक्रोबसमा ३० जना चालक तथा सहचालक थिए,” गौतमले थप जानकारी दिनुभयो।
अहिलेसम्म समग्रमा दुई सय वटा सवारीसाधन बेपत्ता भएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। चीनतर्फ गएका नेपाली सवारीसाधनहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। “चीनतर्फ खडा भएका तीन सय सवारीसाधनको त कुनै रेकर्ड नै हामीलाई प्राप्त भएको छैन,” महासचिव गौतमले भन्नुभयो।
महासङ्घले बिहीबार पाँच सदस्यीय समिति गठन गरेको छ जसले क्षतिको विवरण सङ्कलन गर्न थाल्नेछ। “हाम्रा अधिकांश सार्वजनिक यातायातका सवारीसाधनहरू बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सञ्चालित छन्। सञ्चालकदेखि बैंक र वित्तीय संस्थाहरू सबै प्रभावित हुनेछन्,” महासचिव गौतमले भने।






