Skip to main content

विपत्तिपछि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि

समाचार सारांश भोटेकोशी र त्रिशूलीको बाढीपछि नागढुंगा–मुग्लिन र नागढुंगा–नौबिसे सडक खण्ड भासिँदा काठमाडौंको आपूर्ति प्रणाली प्रभावित भएको छ। आपूर्ति अवरुद्ध भएपछि काठमाडौंमा चामल, चिनी, खानेतेल, तरकारी र फलफूलको मूल्य बढेको व्यापारीहरूले बताएका छन्। सडक अवरुद्ध हुँदा उपत्यकामा खाना पकाउने ग्यासको अभाव चुलिएको छ, र मन्त्रालयले १६ टोलीमध्ये १० टोली बजार अनुगमनमा खटाएको छ। १७ भदौ, काठमाडौं। १० भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले उपभोक्ताको भान्सामा प्रत्यक्ष असर देखिन थालेको छ। बाढी र कटानका कारण उपत्यका भित्रिने मुख्य सडकहरू भासिँदा र मालवाहक गाडी रोकिँदा काठमाडौंमा दैनिक उपभोग्य वस्तुहरू आपूर्ति प्रणालीमा समस्या आएको छ। यसले गर्दा बजारमा खाद्यान्न, खानेतेल, हरियो तरकारी, फलफूल लगायत दैनिक अत्यावश्यक वस्तुहरूको मूल्य वृद्धि भएको छ। काठमाडौं उपत्यकाको जीवनरेखा मानिने नागढुंगा-मुग्लिन सडकखण्ड अन्तर्गत कृष्णभिर क्षेत्रमा त्रिशूलीको बाढीले सडक भासिएको छ। बुधबार बिहान मात्र नागढुंगा-नौबिसे सडकखण्डमा नागढुंगा नजिकै पातले वन क्षेत्रमा सडक भासिएपछि कृष्णभिरबाट चल्ने यातायात पूर्णरूपमा प्रभावित भएको छ। आइतबारदेखि मालवाहक सवारी काठमाडौं भित्रिन र बाहिरिन नसक्दा बजारमा सामानको आपूर्ति प्रभावित भएको छ। उपभोक्ताहरूले बजारमा अभाव हुन सक्ने डरले खाद्यान्न भण्डारण गर्न थालेका छन्। चामल, तेल र चिनीको मूल्य अचाक्ली वृद्धि सडक बन्द भएको बहानामा थोक व्यापारीहरूले सामान लुकाउन थालेपछि खुद्रा बजारमा महँगो भएको उपभोक्ताहरूले बताएका छन्। तर, खुद्रा व्यापारीहरू भने ढुवानी भाडा महँगो हुँदा समस्या आएको दाबी गर्छन्। नयाँ बानेश्वरका किराना व्यवसायीका अनुसार चिनीको मूल्य केही दिनअघिको प्रतिकिलो १२० रुपैयाँबाट अहिले १४० रुपैयाँ पुगेको छ। ‘होलसेलमा चिनी छैन, अभाव भएको छ,’ ती व्यापारी भन्छन्, ‘महँगो भएपछि किन्ने जोसुकैले रोक्यो, त्यसैले मैले पनि बिक्री बन्द गरेको छु।’ चामल र खानेतेलको मूल्यमा पनि ठूलो वृद्धी देखिएको छ। बजारमा विभिन्न किसिमका चामलको मूल्य प्रतिकिलो कम्तीमा २ सय देखि ३ सय रुपैयाँसम्म बढेको छ। पहिले २० किलो २४०० रुपैयाँ पर्ने जिरा मसिनो चामलको मूल्य अहिले २६०० देखि २७०० रुपैयाँसम्म पुगेको छ। सनफ्लावर तेल ब्रान्ड अनुसार प्रतिलिटर ३०० देखि ३५० रुपैयाँ र तोरीको तेल पनि करीब ४०० रुपैयाँ पुग्ने व्यापारीहरूको भनाइ छ। दाल र गेडागुडीको मूल्य भने अहिलेसम्म स्थिर रहेको छ, तर बाटो खुल्न ढिलाइ हुँदा ती मूल्य पनि बढ्न सक्ने व्यापारीहरू बताउँछन्। थोक व्यापारीहरूले बिल नदिँदा चिनी बेच्न गाह्रो : खुद्रा व्यापार संघ नेपाल खुद्रा व्यापार संघका अनुसार चिनी, खानेतेल, चामल लगायत वस्तुहरूको मूल्य पहिलेदेखि नै महँगो थियो र विपत्तिको कारण अब थप प्रभाव परेको छ। संघले काठमाडौं उपत्यकामा तत्काल खाद्यान्न अभाव नभएको जनाएको छ। अझैं केही दिनपछि यसको प्रभाव देखिन सक्ने र खासगरी थोक व्यापारीहरूले बिल सही नदिँदा चिनीको व्यापारमा समस्या आइरहेको संघले जनाएको छ। संघका महासचिव अमुलकाजी तुलाधरले खुद्रा व्यापारीसँग १५ दिनदेखि एक महिनासम्मको स्टक भएकाले अहिले अभाव नभएको बताएका छन्। नयाँ सामान खरिद गर्दा मात्र बजारको वास्तविक स्थिति थाहा हुने बताए। ‘अर्को सातामा स्थिति अझै स्पष्ट हुनेछ,’ तुलाधरले भने, ‘यसैबीचमा स्टकमात्रै बिक्री भइरहेको छ, अभाव छैन।’ तर उनले स्वीकारे कि सामान महँगो भएको गुनासो आएको छ। खासगरी चिनीमा ठूला थोक व्यापारीहरूले बिल नदिँदा खुद्रा व्यापारी समस्या भोग्नु परेको उनले बताए। ‘चिनीको मूल्य बेस्सरी बढेको गुनासो धेरै सुनिन्छ, तर थोक व्यापारीहरूले बिल सही मुद्धा दिदैनन्,’ उनले भने, ‘हामीलाई बिल काट्न ठूलो समस्या छ।’ सही बिल नदिँदा खुद्रा व्यापारीहरूले पनि व्यापार बन्द गर्ने अवस्था आउन सक्ने उनले बताए। उनले अहिले बजारमा खानेतेल पुरानै मूल्यमा उपलब्ध रहेको दाबी गरे। बाढीपहिरोपछि तेलको मूल्य बढेको या नबढेको थाहा नयाँ सप्लाइ आएपछि खुलेको उनले बताए। ढुवानी भाडा वृद्धि बजारमा प्रभाव पार्न थाल्यो हालैको विपत्तिपछि चामलको मूल्य प्रतिकिलो ३०० रुपैयाँसम्म बढेको गुनासो भए पनि उद्योगीहरूले मूल्य नबढाएको बताएका छन्। नेपाल चामल, तेल, दाल उद्योग संघका सदस्य विभोर अग्रवालले उद्योगले पुरानै मूल्यमा पठाइरहेको र बाटो अवरुद्ध भएर ढुवानी भाडा बढेको बताउनुभयो। अग्रवालले चामलको कच्चा धानको मूल्य नबढेकाले उद्योगले मूल्य वृद्धि नगरेको दाबी गरे। ‘हामीले चामलको मूल्य बढाएका छैनौं, पुरानै मूल्यमा बजारमा पठाइरहेका छौं,’ उनले भने, ‘तर विराटनगरबाट काठमाडौंसम्मको ढुवानी राम्रो नभएकाले थप भाडा लागिरहेको छ।’ ढुवानी भाडा बढेपछिको असर उपभोक्तामा अग्रवालका अनुसार विराटनगरबाट काठमाडौं सामान ल्याउँदा भाडा पहिले १५० रुपैयाँ थियो, अहिले २०० रुपैयाँ पुगेको छ। ठूलो गाडी नपाउँदा साना गाडी प्रयोग हुनु भाडा बढ्न प्रमुख कारण रहेको उनले बताए। ‘पहिले विराटनगरबाट काठमाडौं १५० रुपैयाँमा आइरहेको थियो, अहिले २०० मा पुगेको छ,’ उनले भने, ‘यो भाडा अन्ततः डिलरले तिर्नुपर्छ र डिलरले तिरेको भाडा उपभोक्ताले तिर्नुपर्छ।’ २५ किलोको जिरा मसिनो चामल उद्योग मूल्य अहिले पनि २५५० रुपैयाँ नै रहेको उनले बताए। ढुवानी भाडा विमेल गर्न नयाँ बिल काट्दा उद्योगले नयाँ मूल्य दिएको झै देखिएको हुँदा अहिले उद्योगहरूले ‘एक्स-फ्याक्ट्री’ बिल काट्न थालेका छन्। डिलरलाई आफैं गाडीको व्यवस्था गर्न आग्रह गरिएको छ। पुरानो स्टकमा मूल्य वृद्धि गलत कतिपय डिलर र पसलहरूले पुरानो स्टकलाई पनि विपत्तिको मौका छोपेर महँगोमा बेचिरहेका छन्, जुन गलत भएको अग्रवालले बताए। ‘डिलर वा पसलमा पुरानो स्टक छ भने पुरानै मूल्यमा बिक्री गर्नुपर्छ, मूल्य बढाएर बेच्नु गलत हो,’ उनले भने, ‘सरकारले अनुगमन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्छ।’ स्याउ र लसुनको मूल्यमै छ उच्चता खाद्यान्न मात्र होइन, तरकारी र फलफूलको मूल्य पनि उच्च छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा आयात प्रभावित भएर खुद्रा व्यापारीहरूले महँगोमा बिक्री गर्न बाध्य भएका छन्। बुद्धनगरका तरकारी व्यापारी देव रानाले पहिरोले बाटो बन्द हुँदा बजारमा तरकारी कम आएको र नजिकका जिल्लाबाट थोरै मात्र भित्रिएको हुँदा मूल्य ह्वात्तै बढेको बताए। ‘एक किलो स्कुसको मूल्य ७० रुपैयाँसम्म पुगेको छ,’ उनले भने, ‘कालीमाटी लगायत बजारमा तरकारी कम आएकोले मूल्य बढेको हो।’ नयाँ बानेश्वरका फलफूल तथा तरकारी व्यापारीका अनुसार भारतबाट आउने प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँ पुगेको छ भने चिनियाँ लसुन ३५० रुपैयाँ पुगेको छ। बाढीले चिनियाँ नाका बन्द भएकाले भारतबाट आउने बाटो पनि अवरुद्ध भएको छ र आलुको मूल्य पनि बढ्दै गएको व्यापारीले बताए। ‘चीनबाट आउने लसुनदेखि स्याउसम्म सबैको मूल्य होलसेलमै बढेको छ,’ उनले भने, ‘कतिपय होलसेल व्यापारीहरू स्टकको सामान पनि महँगोमा बेच्न थालेका छन्।’ स्याउ र अनारको मूल्य पनि बढेको छ, स्याउको कार्टुन (२० किलो) मूल्य २००० देखि २२ सयसम्म बढेको छ। पहिले ४ हजार ५ सयमा पाइने एक कार्टुन स्याउ अहिले ७ हजार २ सय देखि ७ हजार ५ सय रुपैयाँमा छ। ‘पहिले सस्तो भएको स्याउ अहिले प्रतिकिलो ४५० रुपैयाँ पुग्यो,’ व्यापारीले भने, ‘होलसेलबाट कार्टुनमै सामान ल्याउन गाह्रो छ।’ अनारको मूल्य पनि किलोको ३५० देखि ४०० रुपैयाँ पुगेको छ भने केरा दर्जनको मूल्य २०० देखि २५० रुपैयाँ पुगेको छ। ग्यास अभाव चर्कियो सडक अवरुद्ध हुँदा उपत्यकामा खाना पकाउने ग्यासको अभाव सुरु भइसकेको छ। पहिले नै अभाव रहेको ग्यासको संकट राजमार्ग अवरुद्ध हुँदा झन् बढेको छ। डिपोहरूमा ग्यास नभएको भन्दै उपभोक्ताहरू खाली सिलिन्डर बोकेर भौतारिन बाध्य छन्। काठमाडौं उपत्यकाका सबै डिलरमा ग्यासको लाइन लागेको छ। नेपाल आयल निगमले वैकल्पिक मार्गबाट ग्यास ल्याउने तयारी गरिरहेको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार तराईबाट ग्यास ल्याउने व्यवस्थाको प्रयास भइरहेको छ र प्राथमिकता आधारित वितरण गरिनेछ। निगमले ग्यासको अभाव नहोस् भनेर फिलहाल व्यवसायिक प्रयोजनका लागि ग्यास बिक्री पूर्णरूपमा रोकेको छ। निर्णय अनुसार विद्यार्थी, असहाय, बिरामी, ज्येष्ठ नागरिक, आश्रम र अपाङ्गता भएका व्यक्ति तथा बाढीपीडितका लागि खुला सेन्टरहरूलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने भनिएको छ, तर उपभोक्तामा भरोसा भने कम छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विपद् र चाडपर्वको अवसरमा मनलाग्दी मूल्य तोक्ने व्यवसायी विरुद्ध कडा कारबाही गर्न र गोदाम अनुगमन गर्न निर्देशन दिएको छ। सोमबार मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँग छलफल गरेको बेला मन्त्री गौरीकुमारी यादवले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएकी थिइन्। मन्त्रालयले १६ वटा टीम गठन गरेको छ र तीमध्ये १० टोली बजारमा परिचालन भइसकेको छ। बजार नियन्त्रण गर्न १० टोली परिचालित : मन्त्रालय मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले अनुगमनको काम भइरहेको र प्रारम्भिक रिपोर्ट आउन थालेको जानकारी दिए। बाँकी टोली पनि छिट्टै परिचालित हुने तयारीमा छ। अनुगमन टोलीले उपभोक्ताबाट आएका गुनासाका आधारमा पनि काम गरिरहेको छ। विशेषगरी खाना पकाउने ग्यासको अभावको गुनासा आएको ठाउँमा टोलीले निगरानी गरिरहेको प्रवक्ता सुवेदीले बताए। ‘अनुगमन भइरहेको छ र केही ठाउँमा कारबाही समेत भइसकेको छ,’ उनले भने, ‘चिनी, चामल र खानेतेल तथा तरकारीबारे पनि टोलीले बजारमा गएर निगरानी गरिरहेको छ।