Skip to main content

वैकल्पिक मार्गबाट करिब २४ हजार ५०० सिलिन्डर ग्यास काठमाडौं ल्याइँदै

बाढी र पहिरोले सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका र आसपासका जिल्लामा पेट्रोलियम पदार्थ वैकल्पिक मार्गबाट आपूर्ति गरिरहेको छ। निगमले आज उपत्यकाका लागि करिब २४ हजार ५०० ग्यास सिलिन्डर ल्याउने व्यवस्था मिलाएको छ र भोलिदेखि थप परिमाणमा नियमित आपूर्ति गर्ने जनाएको छ। उद्धार कार्यका लागि नुवाकोटको नेपाली सेनाको ब्यारेकबाट हवाई इन्धन रिफ्युलिङ सेवा मिलाइएको छ र १० भदौदेखि १० लाख २ हजार लिटर इन्धन पठाइसकिएको छ।

आजमात्र उपत्यकाका लागि विभिन्न ब्रान्डका करिब २४ हजार ५०० सिलिन्डर ग्यास ल्याउने व्यवस्था मिलाइएको छ भने भोलिदेखि यो क्रम नियमित तथा थप परिमाणमा ल्याइनेछ। १८ भदौ, काठमाडौं। अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका र आसपासका जिल्लामा पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास वैकल्पिक मार्गबाट आपूर्ति गरिरहेको जनाएको छ।

१० भदौमा भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा अत्यधिक जनधनको क्षति पुऱ्याएको छ। त्यस क्षेत्रमा भइरहेको उद्धार कार्यमा निगमले पेट्रोलियम पदार्थ तथा ग्यास बिक्री वितरणको व्यवस्थापन गरिरहेको छ। त्यस्तै, १४ भदौमा त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा कटान गरेको र सडक भासिएका कारण बाटो अवरुद्ध हुँदा सोही रुटमा पेट्रोलियम ट्यांकर तथा ग्यास बुलेट आउन नसक्ने अवस्था सिर्जना भएको छ।

यस समस्यालाई मध्यनजर गर्दै निगमले काठमाडौं तथा आसपासका जिल्लामा बिक्री वितरण गर्ने पेट्रोलियम पदार्थ वैकल्पिक रूपमा त्रिभुवन राजपथबाट ल्याइरहेको जनाएको छ। निगमका अनुसार एलपी ग्यास उद्योगका लागि हाल तराईका उद्योगहरूमा ग्यास सिलिन्डर भरी सोही बाटोबाट ल्याउने व्यवस्था मिलाइएको छ। साथै, खोज तथा उद्धार कार्यमा संलग्न हेलिकप्टरको लागि आवश्यक हवाई इन्धन नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट रिफ्युलिङ सेवा सञ्चालन गरिएको निगमले जनाएको छ।

१० भदौदेखि आजसम्म १० लाख २ हजार लिटर हवाई इन्धन रिफ्युलिङ कार्यका लागि पठाइसकिएको र हालसम्म पनि त्यही ब्यारेकबाट रिफ्युलिङ कार्य नियमित रूपमा भइरहेको निगमले बताएको छ। उद्धार कार्यको सहजताका लागि निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयबाट बाढी प्रभावित क्षेत्रहरूमा सञ्चालनमा रहेका पेट्रोल पम्पलाई हालसम्म पेट्रोल १० लाख ५ हजार लिटर र डिजेल २० लाख २ हजार लिटर उपलब्ध गराइएको छ। साथै, आवश्यकतानुसार सार्वजनिक विदाका दिनमा समेत पेट्रोल र डिजेल बिक्री वितरणको व्यवस्था मिलाइएको छ।

खोज तथा उद्धार कार्यबाट उद्धार गरी प्रभावित क्षेत्रका विभिन्न सेल्टरमा रहेका बाढीपीडित व्यक्तिको आवश्यक ग्यासको पनि व्यवस्था गरिएको छ। निगमको समन्वयमा नेपाल एलपी ग्यास उद्योग संघबाट उपलब्ध गराइने १ हजार २५० थानमध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार काठमाडौंको अनुरोधमा रसुवा र नुवाकोट जिल्लामा ५ सय थान ग्यास सिलिन्डर पठाउने व्यवस्था मिलाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन्।