Skip to main content

एनभीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जित

कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार दोस्रो जित हात पारेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् को कभर्डहलमा सोमबार सम्पन्न दोस्रो खेलमा कर्णालीले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा हराउँदै आफ्नो विजय यात्रा जारी राख्यो। कर्णालीले सबै तीन सेटमा समान २५–१९ को स्कोरमा आफ्नो पक्षमा पार्दै जीत सुनिश्चित गर्यो। कर्णालीका इरानी खेलाडी अलिरेजा अबालुच ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्।

पहिलो खेलमा कर्णालीले अन्नपूर्ण स्पाइकर किंग्सलाई ३–१ ले पराजित गरेको थियो। लगातार दोस्रो जितपछि कर्णालीले ६ अंक जोडेर लिगमा दोस्रो स्थानमा उक्लिएको छ। खप्तड फाल्कन्सका लागि यो लगातार दोस्रो हार हो। उनीहरूले पहिलो खेलमा पनि सगरमाथा स्म्यासर्ससँग सोझो सेटमै हार बेहोरेका थिए। सोमबार भएको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सले काठमाडौं रेड्सलाई सोझो सेटमा हराउँदै लिगमा पहिलो जित हासिल गरेको छ। सोमबार लिगमा मधेश वारियर्स र अन्नपूर्ण स्पाइकर किंग्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराजबीच खेलहरू हुनेछन्। केडिया ग्रुपको आयोजनामा भइरहेको यो लिगमा ६ टिमहरू प्रतिस्पर्धा गरिरहेका छन्।