
आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस भदौ ३१ गतेदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने भएको छ। प्रतियोगितामा ब्वाइज/गर्ल्स टिम र यु–१०, यु–१२, यु–१४ तथा यु–१६ सिंगल्ससहित १० स्पर्धामा ४ देखि ५ सय खेलाडी सहभागी हुनेछन्। हरेक सिंगल्समा शीर्ष तीनले क्रमशः ६ हजार, ३ हजार र १ हजार ५ सय नगद पुरस्कार पाउनेछन्, र प्रतियोगिता असोज २ गतेसम्म चल्नेछ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा आरम्भका प्रधानाध्यापक नरेशप्रसाद श्रेष्ठले प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी गराए। ब्वाइज/गर्ल्सतर्फ टिम तथा यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज÷गर्ल्स सिंगल्समा खेल हुनेछ। प्रतियोगितामा ४ देखि ५ सय खेलाडीको सहभागिता रहने टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले जानकारी दिए।
प्रधानाध्यापक श्रेष्ठले प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तर दिने बताउँदै शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थी उत्तिकै अब्बल हुन पर्छ भन्ने मान्यताका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनले अन्य खेलका प्रतियोगिता पनि आयोजना गर्ने योजना रहेको बताए। पत्रकार सम्मेलनमा श्रेष्ठले विभिन्न खेलका १६ खेलाडीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरेको जानकारी समेत दिए।
प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ। असोज २ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन गरिनेछ।






