
पब्जी मोबाइलको ग्लोबल ओपन साउथ एसियन फल च्याम्पियनसिप भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्ड हलमा आयोजना हुँदैछ। ईस्पोर्ट्स संघ नेपाल र पब्जी मोबाइलले संयुक्त रूपमा आयोजना गर्ने यस प्रतियोगितामा दक्षिण एसियाका १६ टिमहरूले ४० हजार अमेरिकी डलरको पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट होरा ईस्पोर्ट्स, टीटूके, हिडन लिफ ईस्पोर्ट्स र द गेमिङ ब्रोस्किज पनि सहभागी हुँदैछन्।
ईशानका सचिव आशिष दाहाल र पब्जी मोबाइलको तर्फबाट ईस्पोर्ट्स काउन्टिका ग्लोबल स्पोर्ट्स प्रमुख इमाम हुसेन अफरिदीले कार्यक्रममा आयोजना सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। प्रतियोगितामा नेपालका ४, पाकिस्तानका ८ र बंगलादेशका ४ टिम सहभागी हुनेछन्। प्रत्येक दिन ६ खेल गरी कुल २४ खेल चार दिनमा सञ्चालन हुनेछ।
दाहालले पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएसँगै यस पटक ग्लोबल ओपनको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता नेपालमा आयोजना हुन लागेको जानकारी दिएका छन्। पब्जी मोबाइलका ग्लोबल ईस्पोर्ट्स प्रमुख अफरिदीले पब्जीको लोकप्रियताले नेपाललाई ग्लोबल ईभेन्टका लागि उपयुक्त स्थल बनाएको बताएका छन्। यस प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा सञ्चालन हुँदैछ र ईशानले यसलाई नेपालमा प्रवर्द्धन गर्दैछ।





