Skip to main content

अमेरिकाले रूसबाट तेल तथा ग्याँस खरिदमा १०० प्रतिशत ट्यारिफ लगाउने कानून पारित गरेपछि चीनको प्रतिक्रिया

रूसबाट तेल र ग्यास खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने विधेयक अमेरिकी संसदबाट पारित भएपछि चीनले आफ्नो प्रतिक्रिया व्यक्त गरेको छ। चीनले यस्ता निर्णयमा अन्तर्राष्ट्रिय कानुनको आधार नहुनु र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्वीकृति नपाउनुप्रति निरन्तर विरोध जनाउँदै आएको जनाएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बिहीबार पत्रकार सम्मेलनमा चीन कुनै तेस्रो पक्षको दबाबमा नआउने बताउनुभयो। ‘चीनले सधैं विश्वका विभिन्न देशसँग समानता र पारस्परिक लाभको आधारमा सामान्य आर्थिक तथा व्यापारिक सहकार्य गर्दै आएको छ। यस्तो सहकार्य कुनै तेस्रो पक्षलाई लक्षित हुँदैन र न त यो कुनै तेस्रो पक्षको हस्तक्षेप वा दबाबको अधीनमा हुन्छ,’ प्रवक्ता गुओले बताउनुभएको छ। अमेरिकी प्रतिनिधिसभाले ‘लिन्डसे ओ’ ग्राहम स्यान्क्सनिङ रसिया एन्ड इरान एक्ट २०२६’ नामक विधेयक पारित गरेको छ। यो कानूनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रूसमाथि प्रतिबन्ध लगाउन तथा भारत र चीनजस्ता रूसका प्रमुख व्यापारिक साझेदारमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने अधिकार दिनेछ। विधेयक पारित भएपछि अमेरिकी सिनेटर रिचर्ड ब्लुमेन्थलले चीन र भारतलाई आफ्नो रवैया सुधार्न चेतावनी दिएका छन्।