संगिना वैद्य राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागकी निर्देशक नियुक्त

ओलम्पियन तेक्वान्दो खेलाडी संगिना वैद्यलाई राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागकी निर्देशकमा नियुक्त गरिएको छ। यस नियुक्तिसँगै संगिना राष्ट्रिय खेलकुद परिषदको ६ दशक लामो इतिहासमा पहिलो महिला निर्देशक भएकी छन्। राखेपले बिहीबार उनलाई नियुक्ति पत्र प्रदान गरेको हो।
संगिना वैद्य पहिलो नेपाली खेलाडी हुन् जसले छनोट चरण पार गरी ओलम्पिकमा सहभागिता जनाएकी हुन्। उनले सन् २००४ मा ग्रीसमा आयोजना भएको ओलम्पिकमा छनोट चरण पार गरेकी थिइन्। त्यस्तै, उनी एसियाली खेलकुदमा नेपालबाट स्वर्ण पदक जित्ने पहिलो खेलाडी पनि हुन्। उनले सन् १९९६ मा एसियाली तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्।
संगिनाले सन् १९९९ मा काठमाडौं र २००४ मा पाकिस्तानमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) मा दुई वटा स्वर्ण पदक जितेकी छन्। उनी हाल राखेपमा वरिष्ठ तेक्वान्दो प्रशिक्षकको रूपमा कार्यरत छिन्। पहिले टंकलाल घिसिङ सदस्य सचिव हुँदा, विसं २०८१ सालमा तालिम तथा प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी उनलाई दिने तयारी गरिएको थियो। तर तत्कालीन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अन्तिम समयमा कराते प्रशिक्षक शोभित प्रसाईंलाई निर्देशक बनाउँदा विवाद उत्पन्न भएको थियो। यस विवादका कारण संगिनाले तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशक पदबाट राजीनामा दिएकी थिइन्। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ सरकारमा खेलकुद मन्त्री सस्मित पोखरेल आएपछि अन्ततः संगिना निर्देशकमा चयन भएकी छन्।






