
यमनमा सरकारी सेना र हुथी विद्रोही समूहबीचको तनाव तीव्र बन्दै गएको छ। बीबीसी अरबी सेवाका अनुसार पछिल्लो २४ घण्टामा भएका भिडन्तमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ। केही वर्षको शान्तिपछि यमनमा जुलाईदेखि दुवै पक्षबीच फेरि द्वन्द्व बढेको हो। गत साता हुथी सशस्त्र समूहको अचानक आक्रमणले स्थिति झनै जटिल बनाएको छ।
यी आक्रमणपछि हुथी समूहले हिन्द महासागर र रातो सागरलाई जोड्ने रणनीतिक रूपमा महत्वपूर्ण बाब अल–मन्देब जलमार्गमा आफ्नो नियन्त्रण क्षेत्र विस्तार गरेको बताइएको छ। यमनमा भइरहेको स्थलयुद्धसँगै हुथी लडाकुहरूले साउदी अरबमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण पनि गरिरहेका छन्। साथै, तिनीहरूले साउदी अरबको तेल ढुवानी गर्ने मालवाहक जहाजलाई पनि लक्ष्य बनाइरहेका छन्।






