सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको दोस्रो संस्करण आयोजना हुँदै

बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको दोस्रो संस्करण आयोजना हुँदैछ। प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस, एपीएफ लगायत ८ टोलीले सहभागिता जनाउने जानकारी संयोजक हरि चौधरीले दिएका छन्। विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने निश्चित छ। प्रतियोगिता सिमरा रंगशालामा फ्लडलाईटमा सञ्चालन हुनेछ।
सिमरा भट्रान्स क्लबले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको जानकारी गराएको हो। असोज १७ गतेसम्म चल्ने प्रतियोगितामा तीन विभागबाट ८ टोलीको सहभागिता रहने बताइएको छ। सहभागी टोलीमा नेपाल आर्मी, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, धरानको फेयर फुटबल क्लब, चितवनको बसन्तपुर युनाईटेड, दार्जिलिङको कुर्साङ गर्ल्स फुटबल क्लब, झारखण्डको स्टेट स्पोर्ट्स क्लब र आयोजक सिमरा भट्रान्स क्लब रहेका छन्।
प्रतियोगितामा विजेताले ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ र ट्रफी पाउनेछन्। प्लेयर अफ दि टुर्नामेन्टलाई १ लाख रुपैयाँ, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्तालाई, र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक क्लबले जनाएको छ। प्रतियोगितालाई सफल बनाउन जीतपुरसिमरा उपमहानगरपालिकालाई विभिन्न संघ-संस्थाहरुले सहयोग गर्नेछन्। पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी र वडा अध्यक्ष चयन गुरुङ उपस्थित थिए।






