Skip to main content

कालो रोबिनलाई यस वर्षको ‘बर्ड अफ द इयर’ घोषणा गरियो

५ असोज, वेलिंग्टन (रासस/एएफपी) । न्यूजील्याण्डमा लुप्तप्राय अवस्थामा रहेका कालो रोबिनलाई यस वर्षको ‘बर्ड अफ द इयर’ घोषणा गरिएको छ। यो प्रतियोगितामा यस पटक १ लाख ५ हजारभन्दा बढी मत खस्यो। दक्षिण टापुको पूर्वी तटबाट करिब ८०० किलोमिटर टाढा रहेको चाथम टापुमा पाइने कालो रोबिन कुनै समय लोप हुने अवस्थामा पुगेको थियो। १९८० को दशकमा एउटा प्रजननयोग्य पोथीसहित मात्र पाँचवटा कालो रोबिन बाँकी थिइन्। अहिले दुई संरक्षित क्षेत्रमा करिब ३५० वटा रहेको जनाइएको छ।

कालो रोबिनले उडानविहीन सुगा काकापो र देशी करेया बाजलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो। यसले २६ हजारभन्दा बढी मत प्राप्त गरेको छ। स्वतन्त्र संरक्षण संस्था फरेस्ट एण्ड बर्डले आयोजना गर्ने यो प्रतियोगिता विगतमा विवादमा समेत परेको थियो। २०१९ मा न्यूजील्याण्डका आईपी ठेगानाबाट सयौं मत परेपछि विदेशी, विशेषगरी रुसी हस्तक्षेपको आरोप लागेको थियो। संस्थाले भने अधिकांश मत वैध रहेको जनाएको थियो।

यस वर्ष मतदाताको सङ्ख्या बढ्नुमा विदेशी हस्तक्षेपको भूमिका नरहेको फरेस्ट एण्ड बर्डकी रेबेका ह्याचले बताइन्। उनका अनुसार १ लाख ५ हजार मानिसले आफ्नो मनपर्ने चरालाई मतदान गरेका थिए। “न्यूजील्यान्डवासीहरूले वास्तवमै प्रकृतिका पक्षमा आवाज उठाएका छन्। प्रत्येक ५० जनामध्ये करिब एक जनाले मतदान गरेका छन्”, उनले भनिन्। यसअघि २०२३ मा हास्य कलाकार जोन ओलिभरको समर्थन पाएदेखि पुटेकेटेकले उपाधि जितेको थियो। चाथम आइल्यान्ड्स ल्यान्डस्केप रिस्टोरेसन ट्रस्टले कालो रोबिनको संरक्षणका लागि अभियान सञ्चालन गर्दै आएको छ। ट्रस्टले यसको सङ्ख्या र जैविक विविधता बढाउन थप एउटा सुरक्षित बासस्थान निर्माण गर्ने योजना अघि बढाएको छ।