
समाचार सारांश काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी उपचारको व्यवस्थापनका लागि ५ दिन म्याद थप गरेको छ। ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरी अस्पताल भर्ना गरिएको छ र उनी भर्चुअल रूपमा इजलासमा उपस्थित भएका थिए। जेनजी आन्दोलनको दमनबारे बनेको आयोगले ओली र गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही सिफारिस गरेको थियो। १५ चैत, काठमाडौं – जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा प्रभावकारी आवश्यक व्यवस्था गर्न आदेश जारी गरेको छ। आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थप गर्दै प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न आदेश दिएको हो। ‘प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भएर अस्पतालमा उपचाररत छन् भन्ने जानकारी एवं प्रभावकारी उपचारको व्यवस्था गर्न आदेश जारी गरिएको छ,’ न्यायाधीश श्रेष्ठले आदेशमा उल्लेख गरेका छन्। पक्राउ परेर अस्पताल भर्ना गरिएका ओली बिरामी भएकाले इजलासमा भर्चुअल माध्यमबाट उपस्थित थिए। ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। हालसालै २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा दमन भएको थियो। त्यो समयमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए। जाँच आयोगले उक्त दमनबारे अनुसन्धान गरी ओली र लेखकलाई फौजदारी मुद्दामा कारबाही अगाडि बढाउन सिफारिस गरेको थियो।






