
राजधानीमा जारी नेकपा एमालेको केन्द्रीय समिति बैठकमा महासचिव शंकर पोखरेलले चुनावी समीक्षा र पार्टी पुनर्गठनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ। एक जना केन्द्रीय सदस्यका अनुसार, खराब चुनावी परिणामका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवार ठहर गर्ने गरी तयार गरिएको भनिएको प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा नेताहरूले प्रश्न उठाएका छन्। अध्यक्ष ओलीले चुनावी समीक्षा सम्बन्धी अलग प्रतिवेदन केन्द्रीय समितिमा सोमबार पेस गरेका थिए।
अर्का केन्द्रीय सदस्य ऋषिकेश पोखरेलले अध्यक्षको प्रतिवेदनमा कार्यदलको प्रतिवेदन समेटिएको दाबी गर्दै कार्यदलको प्रतिवेदन अब सान्दर्भिक नभएको बताए। उनले भने, “अध्यक्षले कार्यदल र सचिवालयका आधारमा प्रतिवेदन तयार गरेर ल्याउनुभएको छ। महासचिवले समेत त्यसमा समर्थन जनाइसक्नुभएको छ।” गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ५३ सिट गुमाएर २५ सिटमा सीमित भएपछि एमालेले सुझाव सङ्कलन गरी समीक्षा गर्न उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो।
कार्यदलतर्फबाट महासचिव शंकर पोखरेलले तयार पारेको भनिएको प्रतिवेदनका विवरणहरू विभिन्न सञ्चार माध्यममा प्रकाशित भए तापनि पार्टी बैठकमा पेस नगरिएको नेताहरूले बताएका छन्। नेता कृष्णभक्त पोखरेलले भने, “अध्यक्षको प्रतिवेदनले चार महिना लगाएर बनाएको कार्यदलको प्रतिवेदनको भावनालाई सम्बोधन गर्यो कि गरेन भन्ने मुख्य रूपमा उठेको छ।” उनले पार्टीका कार्यकर्ताबाट कार्यदललाई दिएका सुझावको बेवास्ता भएको बताएका छन्।
ऋषिकेश पोखरेलले भने, “मैले राजनीतिक, वैचारिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गरेर अघि बढ्नुपर्ने कुरा राखेको छु। पार्टीमा स्वचालित आचारसंहिता बनाउनु पर्ने विचार राखेको छु।” अध्यक्ष ओलीले सोमबार पेस गरेका प्रतिवेदनमा ‘नेतृत्वले सङ्कटका बेला छोड्न नहुने’ तर्कसमेत राखिएको छ। कार्यदलका सदस्यहरूले पार्टीको शीघ्र महाधिवेशन, विशेष महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद् बैठक राखेर सुझाव आएका विषयहरू सम्बोधन गर्न सुझाव दिएका छन्।






