गुटेरेसले एआई नियन्त्रणका लागि फिनल्यान्ड र नर्वेको पहललाई स्वागत गरे

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले फ्रन्टियर एआईलाई अन्तर्राष्ट्रिय मापदण्ड तथा निगरानीअन्तर्गत राख्ने फिनल्यान्ड र नर्वेको पहलकदमीलाई स्वागत गर्नुभएको छ। यस पहलले एआईमा मापदण्ड, प्रमाणीकरण र क्षमता सीमालाई नाघेमा अन्तर्राष्ट्रिय संस्था निर्माण गर्ने सम्भावना खोज्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ। गुटेरेसले एआईको सुरक्षित विकास, पारदर्शिता र जवाफदेहिताका लागि विश्वव्यापी सहकार्य र मानव अधिकारमा आधारित सुरक्षा व्यवस्था अपरिहार्य भएको बताउनुभएको छ।
६ असोज, न्युयोर्क (रासस/एएनआई) । गुटेरेसले तीव्र गतिमा विकास हुँदै गरेको ‘‘फ्रन्टियर एआई’’ मोडेललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानीमा राख्न फिनल्यान्ड र नर्वेले अघि सारेको पहललाई स्वागत गर्नुभएको छ। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ। फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेको नेतृत्वमा सुरू गरिएको पहलले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई विद्यमान अन्तर्राष्ट्रिय संयन्त्रलाई सुदृढ गर्दै एआईका लागि मापदण्ड निर्धारण, प्रमाणीकरण तथा क्षमता सीमालाई नाघेमा राष्ट्रहरूलाई एकै स्थानमा ल्याउन सक्ने अन्तर्राष्ट्रिय संस्था निर्माण गर्ने सम्भावना खोज्न आग्रह गरेको छ।
महासचिव गुटेरेसले सामाजिक सञ्जाल एक्स मार्फत पहलको स्वागत गर्दै एआईसम्बन्धी संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलले पहिलो विषयगत प्रतिवेदन सार्वजनिक गरेकोमा पनि खुशी व्यक्त गर्नुभएको छ। उहाँले फ्रन्टियर एआई प्रयोगशाला र सुरक्षा संस्थान सहित बाह्य विशेषज्ञहरूलाई प्यानलसँग सहकार्य गर्न आग्रह गर्नुभएको छ। यस पहलले एआई मानव निर्देशन, निगरानी र नियन्त्रणमा रहनुपर्ने तथा यसको विकास र प्रयोग अन्तर्राष्ट्रिय कानून अन्तर्गत हुनुपर्नेमा जोड दिएको छ।
एआईले मानव जीवन सुधार, विज्ञानको विकास र अर्थतन्त्र सुदृढ गर्न योगदान पुर्याउन सक्ने भए पनि यसको तीव्र विकासले उचित व्यवस्थापन नहुँदा सुरक्षा र संरक्षणमा ठूलो जोखिम निम्त्याउन सक्ने पनि यसले बताएको छ। यसले एआई विकास गर्ने कम्पनीहरूलाई अनिवार्य पूर्वप्रयोग परीक्षण र स्वतन्त्र मूल्यांकनसहित पारदर्शी सुरक्षा प्रणाली विकास गर्न तथा योग्य मूल्यांकनकर्तालाई जोखिम परीक्षणका लागि आवश्यक पहुँच दिन आग्रह गरेको छ। सरकार र क्षेत्रीय संस्थाहरूलाई साझा मापदण्ड विकास, गम्भीर सुरक्षा घटनाको प्रतिवेदन तथा वैज्ञानिक क्षमता र विश्वसनीय मूल्याङ्कनमा सबै मुलुकको पहुँच सुनिश्चित गर्न पनि आह्वान गरिएको छ।
यस पहललाई अस्ट्रेलिया, क्यानाडा, जर्मनी, आयरल्याण्ड, नेदरल्याण्ड्स, सिङ्गापुर, स्पेन, दक्षिण अफ्रिका, टर्की लगायत देशहरूका नेताहरू सहित युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले समर्थन जनाएका छन्। संयुक्त राष्ट्रसंघको ८१औं महासभामा एआई प्रमुख छलफलको विषय बनेको छ। सेप्टेम्बर १६ मा महासचिव गुटेरेसले एआई, जलवायु सङ्कट र गहिरिँदो असमानतालाई मानवतासामु रहेका तीन अस्तित्वगत खतराका रूपमा उल्लेख गर्नुभएको थियो। उहाँले स्वास्थ्य, शिक्षा र जलवायुसहितका क्षेत्रमा एआईको ठूलो सम्भावना भए पनि यसको विकास मानव जोखिमको बुझाइभन्दा तीव्र भइरहेको बताउनुभएको छ।
सरकारले आफ्ना नागरिकहरूलाई एआईको जोखिमबाट जोगाउनुपर्ने उल्लेख गर्दै महासचिव गुटेरेसले विश्वव्यापी सहकार्य अपरिहार्य रहेको बताएका छन्। उहाँले एआईलाई सुरक्षित, पारदर्शी र जवाफदेही बनाउन मानवीय मर्यादा केन्द्रमा राख्ने सुरक्षा व्यवस्था आवश्यक रहेकोमा जोड दिनुभएको छ। संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलले सेप्टेम्बर २१ मा एआई एजेन्ट, असङ्गति र मानवीय नियन्त्रण गुम्ने जोखिम सम्बन्धी पहिलो विषयगत प्रतिवेदन सार्वजनिक गरेको हो। महासचिव गुटेरेसले मङ्गलबार महासभामा आफ्नो अन्तिम सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उहाँको महासचिवकाल समाप्त हुँदैछ। ८१औं महासभाको मूल विषय ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ रहेको छ।






