टर्कीको विद्यालय नजिक गोली चल्दा ११ जना घाइते, दुईको अवस्था गम्भीर

टर्कीको पश्चिमी मनिसा प्रान्तको तुर्गुत्लु जिल्लास्थित एक उच्च माध्यमिक विद्यालय नजिक गोली चलेपछि ११ जना घाइते भएका छन्, जस मध्ये दुई जनाको स्थिति गम्भीर रहेको छ। घटनामा संलग्न भएको आशङ्कामा पक्राउ परेका विद्यार्थीले आफन्तको घरबाट ल्याएको सटगन प्रयोग गरेको रिपोर्ट गरिएको छ। न्यायमन्त्री अकिन गुर्लेकका अनुसार घटना अनुसन्धानका लागि दुई सरकारी वकिल खटाइएका छन् भने संदिग्धका अभिभावक तथा हजुरबुबालाई पनि नियन्त्रणमा लिइएको छ। ६ असोज, अङ्कारा (रासस/एपी)।
टर्कीको पश्चिमी क्षेत्रमा अवस्थित एक उच्च माध्यमिक विद्यालय नजिक मंगलवार गोली चलेको घटनामा कम्तीमा ११ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन्। घटना संग संलग्न रहेको आशङ्कामा एक जनालाई गिरफ्तार गरिएको छ। न्यायमन्त्री अकिन गुर्लेकका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। मनिसा प्रान्तको तुर्गुत्लु जिल्लास्थित व्यावसायिक तथा प्राविधिक उच्च माध्यमिक विद्यालय अगाडि घटना भएको प्रान्तीय गभर्नरको कार्यालयले बताएको छ।
घटनापछि तुरुन्तै प्रहरी र स्वास्थ्यकर्मीको टोलि परिचालन गरिएको थियो। टर्कीको समाचार संस्था हाबरतुर्कले पकडिएका व्यक्ति विद्यालयका विद्यार्थी भएको, जसले आफन्तको घरबाट ल्याएको सटगन प्रयोग गरी विद्यालय नजिक गोली चलाएको र त्यसपछि पैदल भाग्ने प्रयास गरेको जनाएका छन्। गोली चलाउनुको कारण अझै सार्वजनिक गरिएको छैन।
मन्त्री गुर्लेकका अनुसार घटनाको अनुसन्धानका लागि दुई सरकारी वकिल खटाइएको छ। अनुसन्धानमा ती विद्यार्थीमाथि भएको दुर्व्यवहार वा बुलिङको दाबी समेत समावेश गरिएको छ। गुर्लेकले बताए अनुसार अनुसन्धानको क्रममा संदिग्धका अभिभावक र सटगनका मालिक रहेका उनका हजुरबुबालाई पनि नियन्त्रणमा लिइएको छ। घटनापछि चिन्तित अभिभावकहरु विद्यालय पुगेका थिए। स्थानीय सञ्चार माध्यम अनुसार विद्यालय प्रवेशद्वारमा सुरक्षाकर्मी र अभिभावकबीच तनाव समेत भएको थियो। टर्कीमा पछिल्ला महिनामा विद्यालयमा भएका दुई गोलीकाण्डपश्चात् यो घटना भएको हो। सरकारले नयाँ शैक्षिक सत्र सुरू भएसँगै विद्यालय तथा अन्य शैक्षिक संस्थामा सुरक्षा व्यवस्था कडा पारेको थियो।
गत अप्रिलमा दक्षिणपूर्वी सान्लिउर्फा प्रान्तको एक उच्च माध्यमिक विद्यालयमा पूर्वविद्यार्थीले गोली चलाउँदा अधिकांश विद्यार्थीसहित १६ जना घाइते भएका थिए। आक्रमणकारीले पछि आत्महत्या गरेका थिए। त्यो घटना पछि अर्को दिन काहरमामारास प्रान्तमा १४ वर्षीय विद्यार्थीले विद्यालयका दुई कक्षाकोठामा गोली चलाउँदा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए। आक्रमणकारी प्रहरी कारबाहीमा मारिएका थिए।






