बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले नेपालमा आइतबारसम्म पार्ने प्रभाव र आवश्यक सतर्कता

नेपालका विभिन्न भू-भागमा शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमानसँगै मौसम अधिकारीहरूले उच्च सतर्कता अपनाउन आवश्यक रहेको बताएका छन्। बुधबार बिहानको अपडेट अनुसार पछिल्लो प्रणालीको मुख्य प्रभाव देशको मध्य र पश्चिम भागमा पर्ने वरिष्ठ जलविज्ञान विशेषज्ञ विनोद पराजुलीले बताएका छन्। “यसले सामान्य प्रभाव देशभर देखिन्छ तर मुख्य प्रभाव गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पर्ने देखिन्छ,” उनले भने।
गृह प्रशासन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणले संघदेखि स्थानीय तहसम्म सर्वसक्रिय हुन प्रतिकार्य योजना अनुसार काम भैरहेको जनाएको छ। बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीलाई सुख्खा हावाले रोक्ने भएकाले नेपालतर्फ आएपछि यसले सबैभन्दा बढी वर्षा गराउने मौसमविद् विनोद पोखरेलले उल्लेख गरेका छन्। “मैले विभिन्न पूर्वानुमान मोडेलहरू अध्ययन गरेका छु, जसमा कतिपयले ४०० मिलिमिटरभन्दा बढी (अधिकतम ७४१ मिलिमिटर) पानी पर्ने संकेत दिएका छन्,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।
“यो अत्यन्तै ठूलो मात्रामा पानी हो र नेपालका धेरै स्थानमा वा केही क्षेत्रमा भारी वर्षा हुन सक्छ, जसले गम्भीर अवस्था निम्त्याउन सक्छ।” उनका अनुसार नेपालको धेरै भागमा निरन्तर र दोहोरिने गरी भारी वर्षा हुन सक्नेछ र प्रणाली सुस्त गतिमा चल्दा वर्षा दीर्घकालीन रहन सक्छ। पाल्पा, कास्की, पर्वत, अर्घाखाँची, म्याग्दी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, रूपन्देही र मनाङमा धेरै वर्षा हुने अनुमान गरिएको मौसमविद् पोखरेलले जानकारी दिएका छन्।
मौसमविद्हरूले २४ घण्टामा ५० देखि ९९.९९ मिलिमिटर पानी परेमा ‘भारी वर्षा’, १०० देखि १९९.९९ मिलिमिटर परेमा ‘धेरै भारी वर्षा’ र २०० मिलिमिटरभन्दा बढी परेमा ‘अति भारी वर्षा’ भनिने वर्गीकरण गरेका छन्। नेपालका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना मौसम महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद्हरूले उत्तर अन्डमान सागर र वरिपरिका क्षेत्रमा विकसित न्यूनचापीय दबाब बङ्गालको खाडीको मध्य भागमा रहेको बताएका छन्।






