
दक्षिण अफ्रिकाको डरबन नजिकैको क्वामाखुथा टाउनसिपस्थित एक घरमा भएको गोलीकाण्डमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। मंगलबार राति बन्दुकधारीहरूले उक्त घरमा प्रवेश गरी त्यहाँ रहेका १४ जनामाथि गोली चलाएका थिए। घटनास्थलमै १० जनाको मृत्यु भएको र चार जनालाई अस्पताल लगिएकोमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतकमध्ये केही व्यक्ति अवैध गतिविधिसम्बन्धी घटनामा प्रहरीको निगरानीमा थिए। अनुसन्धानलाई प्रभावित नपार्नको लागि यसबारे थप विवरण दिइएको छैन। गोलीकाण्डको कारण अहिलेसम्म स्पष्ट भएको छैन, यद्यपि दुई प्रतिद्वन्द्वी समूहबीचको विवादका कारण घटना भएको हुन सक्ने सम्भावनालाई प्रहरीले निराकरण गरेको छैन।
प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हालसम्म प्राप्त जानकारीअनुसार १३ जना पुरुष र एक महिला घरभित्र पार्टी गरिरहेका थिए। उक्त महिला गर्भवती भएको अनुमान गरिएको थियो।” घटनामा ती महिलाको पनि मृत्यु भएको छ। प्रहरीले घटनामा संलग्न आक्रमणकारीहरूको खोजी सुरु गरेको जनाएको छ।






