Skip to main content

एसियन गेम्स पुरुष क्रिकेटमा अफगानिस्तानले जापानलाई ४८ रनले हरायो

२०औं एसियन गेम्सको पुरुष क्रिकेटमा अफगानिस्तानले समूह ‘ए’ को पहिलो खेलमा जापानलाई ४८ रनले पराजित गरेको छ। १३० रनको लक्ष्य पछ्याएको जापान १९.३ ओभरमा ८१ रनमा अलआउट भयो, जहाँ अफगानिस्तानका अरब गुलले ४ विकेट लिए।

जापानका लागि रियो साकुरानो थोमसले सर्वाधिक २३ रन बनाए भने बेन्जामिन इटो डेभिसले १७ र कप्तान केन्डल काडोवाकी फ्लेमिङले १४ रन बनाए। अफगानिस्तानका अरब गुलले ४ ओभरमा ८ रन मात्र खर्चेर ४ विकेट लिए। नाङ्गेलिया खरोटीले ३, अब्दुल्लाह अहमदजाइले २ तथा नजिबुल्लाह जाद्रानले १ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गर्ने मौका पाएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन तयार पारेको थियो। अफगानिस्तानका लागि मोहम्मद अक्रमले ३४ रन बनाउँदा कप्तान डार्विश रसूलीले २९ रन थपे। मोहम्मद इशकले अविजित २५ र करिम जनतले २१ रन बनाए। जापानका लागि शोमा सुगाया स्लेटर र इब्राहिम ताकाहासीले २-२ विकेट लिए भने बेन्जामिन इटो डेभिस र रियो साकुरानो थोमसले १–१ विकेट लिए। उक्त समूहमा नेपाल पनि रहेको छ। नेपालले शुक्रबार अफगानिस्तानसँग तथा शनिबार जापानसँग खेल्नेछ।