Skip to main content

रुसले युद्ध मोर्चामा ६०० वर्षअघि मृत्यु भएका राजकुमारका अवशेष किन पठाइरहेको छ?

पूर्वी युक्रेनको युद्ध मोर्चामा रहेका रुसी सैनिकहरूले अर्को हिउँदको तयारी गरिरहेका बेला उनीहरूलाई ६ सय वर्षभन्दा पुरानो एउटा अनौठो ‘सहयोग’ प्राप्त भएको छ। रुसले मस्कोका लागि युद्ध लडेका मध्ययुगीन योद्धा राजकुमार दिमित्री डोन्स्कोयका अवशेषको एउटा अंश युक्रेनको युद्धभूमिमा पठाएको छ। सन् १३८० मा कुलिकोभोको युद्धमा विजय प्राप्त गरेका डोन्स्कोयलाई रुसमा महत्त्वपूर्ण सैन्य प्रतीकका रूपमा सम्मान गरिन्छ। उनको दाहिने हातको अवशेषको एउटा टुक्रा सेप्टेम्बरको सुरुवातमा अग्रपंक्तिमा पठाइएको थियो। हाल उक्त अवशेषलाई रुसी नियन्त्रणमा रहेका युक्रेनका विभिन्न सैन्य शिविरमा लैजान थालिएको छ।

रुसी अर्थोडक्स चर्चअन्तर्गतको मस्को प्याट्रिआर्केटको सैन्य विभागले ‘सन्त कमान्डर’ डोन्स्कोयलाई रुसी सैनिकसँग अदृश्य रूपमा ‘काँधमा काँध मिलाएर’ उभिने बताएको छ। चर्चका अनुसार कुलिकोभोको युद्धमा तरबार चलाउने त्यही दाहिने हातको अवशेष सैनिकसमक्ष लगिएको हो। धार्मिक अवशेषलाई युद्धभूमिमा पठाउने अभ्यास अनौठो लाग्न सक्छ। तर सन् २०२२ मा युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु भएको लगत्तै रुसले युद्धमा धार्मिक प्रतीकवाद पनि प्रयोग गर्न थालेको छ। यसले रुसको युद्धलाई ‘धार्मिक रूपमा औचित्यपूर्ण’ र ईश्वरको समर्थन प्राप्त भएको देखाउने प्रयासका रूपमा विश्लेषण गरिएको छ।

क्रेमलिन र रुसी अर्थोडक्स चर्चबीचको सम्बन्ध पनि यस क्रममा थप नजिकिएको विज्ञहरूले बताएका छन्। फोर्डहम विश्वविद्यालयको अर्थोडक्स क्रिस्चियन स्टडिज सेन्टरका धार्मिक शोधकर्ता सर्गेई चाप्निनले चर्च र राज्यबीचको सम्बन्ध यति घनिष्ट भइसकेको बताएका छन् कि उनीहरूलाई छुट्याउन गाह्रो भएको छ। ‘युद्धका लागि जनमत परिचालन गर्ने मिथक’ अर्थोडक्स इसाई परम्परामा धार्मिक अवशेषलाई सैनिकसम्म पुर्‍याउने प्रथा पुरानो हो। तर चाप्निनका अनुसार पवित्र र भौतिक वस्तुहरूको संयोजनले मानिसको ध्यान आकृष्ट गर्ने भएकाले यसको प्रचारात्मक प्रयोग हुन सक्छ।

डोन्स्कोयका अवशेषले समकालीन राजनीतिक सन्देशसमेत बोकेको विज्ञहरूले व्यक्त गरेका छन्। चाप्निनका अनुसार डोन्स्कोयले आफूलाई आक्रमणकारी नभई आफ्नो मातृभूमिको रक्षकका रूपमा प्रस्तुत गरिन्छ। त्यसैले रुस सरकारको दृष्टिकोणबाट उनीहरूको प्रयोग मार्फत रुस आक्रमणकारी नभई आफ्नै भूभागको रक्षा गरिरहेको सन्देश दिन खोजिएको हुनसक्छ। उनले यसलाई ‘युद्धका लागि जनमत परिचालन गर्ने मिथक’ भनेका छन्।