Skip to main content

नेतन्याहुले यूएईका राष्ट्रपति सँग गोप्य भेटको पुष्टि गरे

१३ असोज, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानसँग गोप्य रुपमा भेट भएको पुष्टि गरेका छन्। यूएईको सरकारी समाचार संस्था एमिरेट्स न्युज एजेन्सी (डब्लूएएम) ले नेतन्याहु र राष्ट्रपति नाह्यानबीच सोमबार भएको भेटवार्ता पुष्टि गरेको छ। नेतन्याहुले सप्ताहन्तमा यूएईको राजधानी अबुधाबीको गोप्य भ्रमण गरेका थिए। डब्लूएएमका अनुसार भेटका क्रममा दुई देशबीच द्विपक्षीय सम्बन्ध र त्यसलाई थप सुदृढ र विकास गर्ने उपायबारे छलफल भएको थियो।

इजरायली सञ्चारमाध्यमहरूले यसअघि नै नेतन्याहुको यूएई भ्रमणबारे समाचार सार्वजनिक गरिसकेका थिए, तर यूएईबाट यो पहिलोपटक पुष्टि भएको हो। यो भ्रमण इजरायलमा आगामी अक्टोबरमा हुने संसदीय निर्वाचनभन्दा करिब एक महिनाअघि भएको थियो। साथै, सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणअघि यूएईका राष्ट्रपति नाह्यानले नेतन्याहुलाई सम्भावित ठूलो आक्रमणबारे चेतावनी दिएको दाबी सार्वजनिक भइरहेकै बेला उनको यूएई भ्रमण भएको हो।

नेतन्याहुको पछिल्लो यूएई भ्रमणबारे इजरायली च्यानल–१२ ले पहिलो पटक समाचार सार्वजनिक गरेको अलजजिराले जनाएको छ। सोमबार इजरायली गुप्तचर निकाय शिन बेटले नेतन्याहुको भ्रमणसम्बन्धी समाचारले प्रधानमन्त्रीको सुरक्षामा जोखिम बढाएको र आफ्ना संवेदनशील सञ्चालनसम्बन्धी विवरण सार्वजनिक भएको भन्दै इजरायली सैन्य सेन्सर समक्ष उजुरी दिएको छ, एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ।

आक्रमणअघि चेतावनी दिएको दाबी इजरायली अखबार हारेत्जले सेप्टेम्बर ९ मा प्रकाशित गरेको समाचारमा यूएईका राष्ट्रपति नाह्यानले अक्टोबर ७ को आक्रमणभन्दा करिब १० दिनअघि नेतन्याहुसँग फोनमा कुराकानी गरेको दाबी गरेको थियो। समाचार अनुसार तत्कालीन हमास नेता याह्या सिनवारले ‘ठूलो आश्चर्य’ को तयारी गरिरहेको बताएको भन्दै नाह्यानले नेतन्याहुलाई सम्भावित खतराबारे सचेत गराएका थिए। हारेत्जका अनुसार नाह्यानले यसअघि नै इजरायलको आन्तरिक सुरक्षा निकाय शिन बेटलाई समेत यो विषयमा जानकारी गराइसकेका थिए। तर नेतन्याहुको कार्यालयले आक्रमणअघि आफूलाई त्यस्तो कुनै सूचना प्राप्त नभएको दाबी गरेको छ।