Skip to main content

गण्डकी प्रदेशको सहज जित, भुटान माथि प्रभावशाली प्रदर्शन

१३ असोज, काठमाडौं । गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोलीलाई सहज जितसहित पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भुटानले दिएको ९७ रनको लक्ष्य गण्डकीले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍्यो । गण्डकीका सुरुबाटै बलियो प्रदर्शन गर्ने ओपनर इश्वर क्षेत्रीले सर्वाधिक अविजित ३४ रन बनाए भने उनले २२ बलमा २ चौका र ३ छक्का प्रहार गरे । दीपक कुमार डुम्रेले १९ बलमा २६ रन बनाएर अविजित रहे । अर्का ओपनर अर्जुन कुमाल २२ र सिब्रिन श्रेष्ठ १० रनमा आउट भए । बलिङतर्फ भुटानका सोनाम येशे र नामगे थिन्लेले समान एक-एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको भुटान टस हारेर १९ ओभर ३ बलमा ९६ रन जोडेर अलआउट भयो । भुटानका लागि सोनाम चोपेल र रञ्जुङ मिक्यो दोर्जीले समान २७ रन बनाए भने नामगे थिन्लेले १६ रन योगदान दिए । अन्य खेलाडीहरुमा नामगाङ चोजे २, थिन्ले जम्त्सो ७, ताशी दोर्जी २, र सोनाम येशे २ रन बनाए । ताशी फुन्छो ९ रनमा अविजित रह्यो । तेन्जिन राब्गे, गाकुल कुमार घाले र ताशी चोपेलले रन बनाउन सकेनन् । गण्डकीका सुवास भण्डारीले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिएका थिए । अपराजित रहेका पौडेलले ३ विकेट लिए भने कप्तान विपिन खत्री, सुदीप अर्याल र सिब्रिन श्रेष्ठले समान एक-एक विकेट लिए । पोखरा भ्रमणमा रहेको भुटानले भोलि बुधबार गण्डकी प्रदेशसँग दोस्रो अभ्यास खेल खेल्ने योजना रहेको छ । त्यसपछि भुटानले क्यान–११सँग दुई अभ्यास खेल खेल्ने तालिका बनाएको छ ।