Skip to main content

नेपाल ए र महिला क्रिकेट टोली भुटानमा शृङ्खला खेल्ने

१४ असोज, काठमाडौं । नेपाल ए पुरुष टोली र नेपाली महिला टोलीले भुटानमा क्रिकेट शृङ्खला खेल्ने भएका छन्। भुटान क्रिकेटले सार्वजनिक गरेको ‘भुटान क्रिकेट फेस्टिभल २०२६–२७’ को तालिकाअनुसार, नेपाल ए टोलीले डिसेम्बरमा पुरुष टी–२० आई शृङ्खला खेल्नेछ भने महिला टोलीले जनवरीमा महिला टी–२० आई शृङ्खलामा प्रतिस्पर्धा गर्नेछ। नेपाल एले डिसेम्बर ४ देखि १३ सम्म हुने गेलेफु पुरुष टी–२० आई शृङ्खलामा भुटान, बहराइन, थाइल्यान्ड र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका खेल गेलेफु इन्टरनेसनल क्रिकेट ग्राउन्डमा हुनेछ।

त्यसपछि डिसेम्बर १५ देखि २४ सम्म भुटान, बहराइन र माल्दिभ्सबीच पुरुष टी–२० आई त्रिकोणात्मक शृङ्खला हुनेछ। डिसेम्बर २६ देखि ३० सम्म भुटान र माल्दिभ्सबीच पुरुष टी–२० आई मैत्रीपूर्ण शृङ्खला हुनेछ। नेपाली महिला टोलीले जनवरी २०२७ मा हुने ‘लोटस कप’ महिला टी–२० आई क्वाड शृङ्खला खेल्नेछ। उक्त शृङ्खलामा नेपालसँगै आयोजक भुटान, इन्डोनेसिया र हङकङ, चीन सहभागी हुनेछन्। भुटान क्रिकेटले जनवरीमा ‘माइन्डफुल कप’ महिला टी–२० आई क्वाड शृङ्खला पनि आयोजना गर्ने जनाएको छ। त्यसमा भुटान, जापान, ओमान र इन्डोनेसियाले खेल्नेछन्। जनवरी ३० देखि फेब्रुअरी २ सम्म भुटान र ओमानबीच महिला टी–२० आई मैत्रीपूर्ण शृङ्खला हुनेछ। भुटान क्रिकेट फेस्टिभल २०२६–२७ अन्तर्गत पुरुष र महिला गरी कुल ६ अन्तर्राष्ट्रिय शृङ्खला आयोजना हुनेछन्।