Skip to main content

इरानी गार्डले अमेरिकी सेनाको फिर्तीलाई ऐतिहासिक विजयको रूपमा स्वागत

१५ असोज, तेहरान (राससएएफपी)। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई ‘ऐतिहासिक विजय’ को रूपमा स्वागत गर्दै अमेरिकालाई पश्चिम एसियाबाट पूर्णरूपमा बाहिरिन आह्वान गरेको छ। रिभोलुसनरी गार्ड्सले बिहीबार जारी गरेको विज्ञप्तिमा इराकी जनता, इस्लामिक प्रतिरोधको संयुक्त मोर्चा र इस्लामिक विश्वका क्रान्तिकारी लडाकूलाई अमेरिकी सेनाको फिर्तीका लागि बधाई दिएको छ। गार्ड्सको आधिकारिक सञ्चारमाध्यमले विज्ञप्ति सार्वजनिक गरेको हो।

इस्लामिक स्टेट (आइएस) विरुद्ध लड्न सन् २०१४ मा इराक र सिरियामा तैनाथ गरिएको अमेरिकी नेतृत्वको गठबन्धनले बुधबार आफ्नो सैन्य अभियान औपचारिक रूपमा समाप्त गर्दै इराकबाट फिर्ती भएको थियो। आइएसले कुनै समयमा दुवै देशको ठूलो भूभाग कब्जा गरेको थियो। इराकमा सन् २०१७ र सिरियामा सन् २०१९ मा आइएस पराजित भए पनि गठबन्धन सेनाले त्यसका बाँकी समूहविरुद्ध कारबाही जारी राखेको थियो।

रिभोलुसनरी गार्ड्सले अमेरिकी सेनाको उपस्थितिले क्षेत्रीय सुरक्षा सुनिश्चित नगरेको दावी गर्दै अमेरिकाले पश्चिम एसिया छोडेर सुरक्षा व्यवस्थापन सम्बन्धित राष्ट्रहरूलाई नै सुम्पिनुपर्ने बताए। दुई दशक लामो अमेरिकी उपस्थितिले क्षेत्रीय असुरक्षा, आतंकवाद र अस्थिरता बढाएको आरोप छ। इराक र अमेरिकाले सन् २०२४ मा गठबन्धनको मिशन अन्त्य गर्ने सहमति गरेका थिए। त्यसपछि गठबन्धनमा आबद्ध सेना इराकभरका आफ्ना आधारबाट क्रमशः फिर्ता हुँदै आएका थिए। पछिल्लो समय उनीहरूको उपस्थिति इराकको स्वायत्त उत्तरी कुर्दिस्तान क्षेत्रमा सीमित भएको थियो।

इराकी सरकारले गठबन्धन सेनाको फिर्तीपछि इरान समर्थित शक्तिशाली सशस्त्र समूहले हतियार कायम राख्न प्रयोग गर्दै आएको एउटा प्रमुख बहाना हटेको बताएको छ। यसैबीच, इराकी प्रधानमन्त्री अली अल–जैदीले बिहीबार सशस्त्र समूहलाई आफ्ना हतियार राज्यलाई हस्तान्तरण गर्न जून ३० सम्मको नयाँ समयसीमा घोषणा गरेका छन्।