
१५ असोज, जुरीच (रासस/एपी) । स्विट्जरल्यान्डका हिमनदीहरूले यस वर्ष कुल बरफको मात्रा ५.५ प्रतिशतले घटाएका छन्। अत्याधिक गर्मी र जाडो समयमा कम हिमपातले गर्दा बरफ पग्लने दर तीव्र भएपछि यो कमी अभिलेखमा दोस्रो सबैभन्दा ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले जनाएका छन्। ग्लामोस स्विस हिमनदी अनुगमन सेवा र स्विस एकेडेमी अफ साइन्सेजले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्ला पाँच वर्षमा स्विट्जरल्यान्डका हिमनदीमा रहेको बरफ करिब एक पाँचौं भागले घटेको छ।
ग्लामोसका प्रमुख र हिमविज्ञानका प्राध्यापक म्याथियास हसले भनेका छन् कि अल्पाइन हिमनदीहरू हालको अवस्थामै दीर्घकालीन रूपमा टिक्न सक्दैनन्। उनका अनुसार हालैको तापक्रम वृद्धिले पूर्ण रूपमा मानवजन्य जलवायु परिवर्तनको प्रभाव देखाउँछ। मानव उत्सर्जन र जीवाश्म इन्धनको प्रयोग बिना यस्तो तापक्रम वृद्धिको अवस्था नआउने उनी बताए। जाडोयाममा पर्याप्त हिउँ नपर्नुले हिमनदीहरूको दीर्घायुका लागि ठूलो चिन्ता देखिएको छ।
हिउँले पुरानो बरफलाई पग्लनेबाट जोगाउने साथै उच्च उचाइमा नयाँ बरफ बन्ने आधार पनि तयार गर्छ। सन् २०२२ मा अत्यधिक गर्मी, कम हिमपात र सहारा मरुभूमिबाट आएको रातो धुलोका कारण स्विस हिमनदीमा अहिलेसम्मकै तीव्र बरफ क्षय भएको थियो। यस वर्षको जुलाईदेखि सेप्टेम्बरसम्म स्विट्जरल्यान्डका हिमनदीले करिब २२ खर्ब लिटर पानी बराबरको बरफ गुमाएको अनुमान गरिएको छ। यो मात्रा करिब ९१ लाख जनसंख्या भएको स्विट्जरल्यान्डको वार्षिक पानी खपतको चार गुणा छ।
स्विट्जरल्यान्डले आफ्नो आधाभन्दा बढी विद्युत् जलविद्युत्बाट उत्पादन गर्छ, त्यसैले हिमनदीको अवस्थाले पानीका स्रोत र ऊर्जा उत्पादनमा सीधै प्रभाव पार्छ। यस वर्ष हिमनदीमा हराएको बरफको मात्रा सन् २००३ को भन्दा कम भए पनि प्रतिशतमा क्षति बढी देखिएको छ। २००३ मा कुल बरफको ३.५ प्रतिशत घट्दा अहिले हिमनदीमा बाँकी बरफको मात्रा २३ वर्षअघिको करिब एक तिहाइ मात्र बचेको छ। यस वर्ष कतिपय हिमनदीको औसत वर्षा मोटाइ २.५ देखि चार मिटर तथा केही हिमनदीहरूको अगाडिको भागमा बरफको मोटाइ १० मिटरसम्म कम भएको पाइयो।
एलालिन, क्लेरिडेन्ट, रोन तथा आल्प्स क्षेत्रमा पर्ने सबैभन्दा ठूलो एलेट्स हिमनदी तीव्र रूपमा बरफ गुमाउने समूहमा छन्। विज्ञहरूले भनेका छन् कि हिमनदी पग्लने प्रभाव केवल स्विट्जरल्यान्डसम्म सीमित छैन। स्विट्जरल्यान्डलाई युरोपको ‘पानीको टावर’ मानिन्छ र डेन्युब, पो, राइन तथा रोनजस्ता प्रमुख नदीहरूका जलस्रोतमा यसको योगदान छ। विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय, ग्रिनल्यान्ड र अन्टार्क्टिकासहितका विभिन्न क्षेत्रहरूमा समेत बरफ र हिमनदीमा ठूलो परिवर्तन देखिएको छ।






