Skip to main content

१५ वर्षे क्रिकेटर वैभव सूर्यवंशी टाइमको प्रतिष्ठित सूचीमा चयन

फोटो स्रोत : वैभव सूर्यवंशी/फेसबुक १६ असोज, काठमाडौं । भारतका युवा क्रिकेटर वैभव सूर्यवंशी अमेरिकी पत्रिका टाइमको प्रतिष्ठित ‘TIME १०० NEXT २०२६’ को सूचीमा चयन भएका छन्। यस सूचीले विश्वभरका १०० उदीयमान प्रतिभालाई सम्मान गर्दछ, जसले आफ्नो क्षेत्रको भविष्यलाई असर गर्ने क्षमता राख्दछन्। १५ वर्षका वैभव यस सूचीमा परेका एकमात्र भारतीय खेलाडी हुन् र सूचीमा रहेका सबैभन्दा कम उमेरका पनि हुन्। उनी ‘फेनम्स (Phenoms)’ श्रेणीमा छन्, जसको अर्थ असाधारण प्रतिभा भएका र कम उमेरमै ठूलो सम्भावना देखाएका उदीयमान व्यक्तिहरू हो।

बिहारका वैभवले सन् २०२४ मा मात्र १२ वर्षको उमेरमा रणजी ट्रफी मार्फत प्रथम श्रेणी क्रिकेटमा डेब्यु गर्दा क्रिकेट जगतको ध्यान तानेका थिए। त्यसपछि राजस्थान रोयल्सले उनलाई आईपीएलको लागि १ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो। आईपीएल २०२५ को आफ्नो पहिलो सिजनमै वैभवले सात इनिङ्समा २५२ रन बनाएर आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। गुजरात टाइटन्सविरुद्ध ३५ बलमै शतक प्रहार गरेको उनकाे इनिङ्सले विशेष चर्चा पाएको थियो।

भारतका पवन कुमार पनि ‘TIME १०० NEXT २०२६’ को सूचीमा परेका छन्। उनी भारतको अन्तरिक्ष प्रविधि क्षेत्रमा परिचित नाम हुन्। पवन कुमार निजी अन्तरिक्ष कम्पनी स्काइरुट एयरोस्पेसका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन्। यसअघि उनी भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) मा वैज्ञानिकका रूपमा कार्यरत थिए। चन्दनाको नेतृत्वमा रहेको स्काइरुट एयरोस्पेसले भारतको निजी अन्तरिक्ष क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। कम्पनीले विकास गरेको ‘विक्रम–१’ रकेट अभियानले भारतको निजी अन्तरिक्ष उद्योगमा नयाँ अध्याय सुरु गरेको बताइएको छ।