
१६ असोज, किएभ (रासस/एएफपी) । रूसी ड्रोन आक्रमणपछि युक्रेनको राजधानी किएभमा निप्रो नदीमाथि रहेका दुई प्रमुख पुलहरूमा यातायात सेवा प्रभावित भएको छ। दक्षिणी पुल दुवै दिशामा पूर्णरूपले बन्द गरिएको छ भने प्याटन पुलमा एक मात्र बाटो खुल्ला राखिएको मेयर भिटाली क्लिट्स्कोले शुक्रबार जानकारी दिनुभएको छ। रूसी ड्रोनले दक्षिणी पुलका संरचनामा आक्रमण गरेपछि त्यसको अवस्थाबारे मूल्याङ्कन गर्न पुल बन्द गरिएको थियो। यातायात र मेट्रो सेवा पुनः सञ्चालनमा आए पनि बिहीबार राति पुलमा पुनः आक्रमण भएपछि फेरि बन्द गरिएको मेयर क्लिट्स्कोले बताउनुभयो। प्याटन पुलमा भने कुनै आक्रमण भएको रिपोर्ट नभएको उहाँले थप्नुभयो। यसैबीच, किएभको डार्नित्स्की जिल्लास्थित २५ तले आवासीय भवनमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र कम्तीमा दुई जना घाइते भएका छन् भन्ने जानकारी आपत्कालीन सेवाले दिएको छ। पछिल्ला महिनामा किएभमा रूसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणहरूमा वृद्धि आएको छ।






