

संयुक्त राष्ट्रसंघमा अमेरिका र क्युबाबीचको विवाद


संयुक्त राष्ट्रसङ्घ महासभामा क्युबामाथिको अमेरिकी नाकाबन्दीसम्बन्धी बहसका क्रममा अमेरिकी राजदूत माइक वाल्ट्ज र क्युबाका विदेशमन्त्री ब्रूनो रोड्रिगेज पारिलाबीच भनाभन भएको छ। वाल्ट्जले क्युबाली शासनमाथि दमन र भ्रष्टाचारको आरोप लगाउँदै रोलेक्स घडीका तस्बिर देखाएपछि क्युबाली प्रतिनिधिमण्डलले विरोध गरेको थियो। स्थिति तनावग्रस्त बनेपछि महासभाका अध्यक्ष खलीलुर रहमानले केही समय बैठक स्थगित गरेका थिए। यो विवाद क्युबामाथिको अमेरिकी नाकाबन्दीको निन्दा गर्ने ३४औँ वार्षिक प्रस्तावमाथिको बहसका क्रममा भएको हो।
महासभामा अमेरिकी राजदूत वाल्ट्जले क्युबाली शासनमाथि दमन र भ्रष्टाचारको गम्भीर आरोप लगाउँदै गर्दा क्युबाली प्रतिनिधिमण्डलले उनको भाषण रोक्न खोजेपछि सभाकक्षभित्र तीव्र तनाव फैलिएको थियो। परिस्थिति नियन्त्रणबाहिर जान थालेपछि संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्ष खलीलुर रहमानले केही समयका लागि बैठक स्थगित गर्नुपरेको थियो। वाल्ट्जले क्युबाको सत्तारूढ कम्युनिस्ट व्यवस्थालाई नागरिक अधिकारको दमन, अत्याचार र भ्रष्टाचारसँग जोड्दै नाकाबन्दी जारी राख्नुपर्ने पक्षमा जोडदार तर्क राखे।
क्युबाली प्रतिनिधिमण्डलका सदस्यहरूले अमेरिकी राजदूतको महँगा घडी र विलासिताको तस्बिर देखाउँदै विरोध जनाउन थाले। क्युबाका विदेशमन्त्री रोड्रिगेजले वाल्ट्जलाई ‘तपाईं झुट बोलिरहनुभएको छ!’ भन्दै क्युबाली जनता र सरकारको मर्यादाप्रति घोर अपमान गरेको आरोप लगाए। उनले अमेरिकाले अन्य देशहरूलाई धम्क्याएर क्युबामाथिको नाकाबन्दीको निन्दा गर्ने प्रस्तावको विपक्षमा मतदान गराउन खोजेको आरोप पनि लगाए।
अमेरिकी राजदूत वाल्ट्जले क्युबाली नागरिकको अभिव्यक्ति स्वतन्त्रताको विषय उठाउँदै क्युबाली प्रतिनिधिमण्डललाई थप घेरेका थिए। उनले क्युबामा कुनै ‘नाकाबन्दी’ नरहेको दाबी गर्दै सन् २०२६ को पहिलो आठ महिनामै अमेरिकी कम्पनीहरूले क्युबामा ८७ करोड ६० लाख डलरभन्दा बढीका सामान निर्यात गरेको तथ्याङ्क प्रस्तुत गरे। क्युबाले अमेरिकी नाकाबन्दीलाई आफ्ना जनतामाथिको गैरकानुनी र अमानवीय आक्रमण भन्दै यसैका कारण देशमा इन्धन सङ्कट, स्वास्थ्य सेवासम्बन्धी समस्या र गम्भीर आर्थिक मन्दी पैदा भएको दाबी गर्दै आएको छ।

सम्बन्धित खबर









