Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे विश्वलाई जानकारी गराउँदै उच्चस्तरीय क्षेत्रीय संवाद आयोजना गर्यो

Advertisement800×200-1

नेपालले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी विपत्तिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमबारे विश्व समुदायको ध्यानाकर्षण गराएको छ। थाइल्यान्डको राजधानी बैंककमा आयोजित उच्चस्तरीय क्षेत्रीय संवादमार्फत नेपालले हिमाली क्षेत्रमा उत्पन्न हुने प्राकृतिक विपत्तिको असर सीमापार र तल्लो तटीय क्षेत्रसम्म फैलिने भन्दै त्यसको सामना गर्न साझा रणनीति, आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको औँल्याएको हो।

संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईएससीएपी) को पाँचौँ मन्त्रीस्तरीय सम्मेलनका अवसरमा नेपालले बिहीबार विशेष क्षेत्रीय संवाद आयोजना गरेको हो। ‘सगरमाथादेखि सागरसम्मः एसिया–प्रशान्त क्षेत्रमा शृंखलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी–त्रिशूली विपत्तिले सिकाएका पाठहरू’ विषयमा आयोजित संवादमा विभिन्न देशका मन्त्री, कूटनीतिज्ञ, वैज्ञानिक, जलवायु विज्ञ तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।

नेपालले उक्त घटनालाई एउटा सामान्य प्राकृतिक विपत्तिका रूपमा मात्र नभई हिमाली क्षेत्रबाट सुरु भएर नदी प्रणाली हुँदै तल्लो तटीय क्षेत्रसम्म असर पुर्‍याउने शृंखलाबद्ध विपद्को उदाहरणका रूपमा प्रस्तुत गरेको छ। कार्यक्रममा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओली र यूएन ईएससीएपीकी कार्यकारी सचिव अमिदा सल्सिया अलिस्याहबानाले पनि हिमालदेखि समुद्रसम्म जोडिएको पारिस्थितिकीय प्रणालीको संरक्षणका लागि क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

नेपालले जलवायु विपद्को सामना गर्न अन्तरिक्ष प्रविधि, स्याटेलाइट सूचना तथा वैज्ञानिक तथ्यांकमा क्षेत्रीय पहुँच विस्तार गर्ने प्रस्ताव प्रस्तुत गरेको थियो। उक्त प्रस्तावप्रति ५३ देशले समर्थन जनाउँदै आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपालले आयोजना गरेको उच्चस्तरीय संवादले भोटेकोशी–त्रिशूली विपत्तिपछिको पुनर्निर्माण र पुनरुत्थानका प्रयासमा अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर