

जनकपुरधाम । तिहार सकिएसँगै छठ पर्वको तयारीले मिथिलाका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने पर्वका लागि स्थानीयवासी नदी, पोखरी र जलाशयका किनारमा छठघाट बनाउन, सरसफाइ गर्न र सजाउन जुटेका छन् । घरघरमा छठका भक्तिगीत गुञ्जिन थालेका छन् भने घर र सार्वजनिक स्थलमा बत्ती राख्ने क्रम बढेको छ । बजारमा केराका घरी, उखु, अदुवा, बेसार र ज्यामिरलगायत पूजासामग्रीको बिक्री बढेको छ । बाँसका ढकी, डलिया र कोनियाँसँगै माटाका दियो, गाग्री र अन्य भाँडाको माग पनि बढेको स्थानीय व्यापारी बताउँछन् ।
घरमा छठको प्रसाद ठकुवा र भुसुवा बनाउने चटारो छ । शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यो पर्वमा प्रसादका लागि चामल र गहुँको पिठो घरमै तयार गर्ने परम्परा अझै कायम छ । मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ मनाइन्छ । पहिलो दिन ‘नहाय–खाय’ र दोस्रो दिन ‘खरना’ गरिन्छ । तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गरिन्छ । सामाजिक सद्भाव र एकताको प्रतीक मानिने छठमा विभिन्न समुदायका मानिस एउटै घाटमा भेला भएर सूर्यदेव र षष्ठीदेवीको पूजा गर्ने परम्परा छ ।

सम्बन्धित खबर











