Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

सोनिया गान्धीको संस्मरणका प्रमुख खुलासाहरू

Advertisement800×200-1

सोनिया गान्धीको संस्मरणमा सन् १९७५ को सङ्कटकाललाई गल्ती भन्दै यसले परिवारभित्र विभाजन ल्याएको र राजीवले विरोध गरेको उल्लेख छ। उनले सन् १९९२ को बाबरी मस्जिद विध्वंसलाई भारतको राजनीतिक यात्राको टर्निङ प्वाइन्ट र बीजेपी-आरएसएस गठबन्धनको बढ्दो प्रभावको सङ्केत भनेकी छिन्। सन् २००४ मा प्रधानमन्त्री पद अस्वीकार गरेकी सोनियाले मनमोहन सिंहलाई इमानदार र शासन प्रणाली जान्ने व्यक्ति भन्दै यूपीए सरकारको नेतृत्वका लागि रोजेकी छिन्। भारतीय कांग्रेसकी नेता सोनिया गान्धीको संस्मरण, ‘विलङ्गिङ : अ जर्नी अफ लभ’ ले भारतमा तरंग ल्याएको छ। उक्त पुस्तकमा प्रसंगहरूलाई लिएर सत्तारुढ भाजपाले आपत्ति जनाएपछि यसको चर्चा झन् चुलिएको छ। गत नोभेम्बर १० मा विमोचन गरिएको हार्परकोलिन्स इन्डियाद्वारा प्रकाशित ५४४ पृष्ठको यस संस्मरणले गान्धीको जीवनका महत्त्वपूर्ण घटनाक्रमहरूको व्यक्तिगत वृत्तान्त प्रस्तुत गर्दछ। जसमा उनका पति राजीव गान्धीको हत्यादेखि लिएर क्यान्सरसँगको उनको लडाइँ र सन् २००४ मा उनले प्रधानमन्त्रीको पद अस्वीकार गर्नुका कारणहरू समावेश छन्। पुस्तकले स्वतन्त्र भारतको इतिहासका केही विवादास्पद घटनाक्रमहरूलाई पनि पुनः स्मरण गरेको छ, जसमा सन् १९८४ को अपरेसन ब्लु स्टार, सन् १९७५ को सङ्कटकाल र सन् १९९२ को बाबरी मस्जिद विध्वंस सामेल छन्।

संस्मरणका केही महत्त्वपूर्ण खुलासाहरू यस्ता छन्: सङ्कटकाल एक गल्ती थियो। गान्धीले सन् १९७५ मा लगाइएको सङ्कटकाललाई एक गल्तीका रूपमा वर्णन गरेकी छिन् र तत्कालीन प्रधानमन्त्री रहेकी आफ्नी सासू इन्दिरा गान्धीले पनि अन्ततः त्यस्तै महसुस गरेको आफूलाई विश्वास रहेको बताएकी छिन्। उनले सञ्जय गान्धीलाई ‘नियन्त्रणमा’ राख्न सकिएको भए उक्त निर्णयपछि भएको धेरैजसो क्षतिलाई रोक्न सकिने थियो भनी लेखेकी छिन्। संस्मरण विमोचन हुनुअघि द गार्डियन सँगको एक अन्तर्वार्तामा सोनियाले भनेकी थिईन्, ‘मलाई सधैँ लाग्छ इन्दिरा गान्धी हृदयदेखि नै लोकतन्त्रवादी थिइन्। मलाई थाहा छ धेरैजना यस कुरालाई हाँसोमा उडाउने छन्। तर उनी सङ्कटकालको अवधिमा कहिल्यै सहज थिइनन्। मलाई लाग्छ – यसले उनको मनमा भारी बोझ पारेको थियो,’ उनले थपिन्।

सन् १९९२ मा बाबरी मस्जिदको विध्वंसलाई पुनः स्मरण गर्दै गान्धीले यसलाई भारतको राजनीतिक यात्राको एक टर्निङ प्वाइन्ट र बीजेपी-आरएसएस गठबन्धनको बढ्दो प्रभावको सङ्केतका रूपमा वर्णन गरेकी छिन्। त्यहाँ बीजेपी-आरएसएस र तिनीहरूका सहयोगीहरूले एकलौटी रूपमा आफ्नो विभाजनकारी एजेन्डालाई अगाडि बढाउँदै थिए। धेरै वर्षदेखि यसका स्पष्ट सङ्केतहरू आईरहेका थिए। सन् १९९२ को बाबरी मस्जिदको विदारक विध्वंस र त्यसपछि उत्पन्न साम्प्रदायिक हिंसाको शृङ्खलाका निश्चित सूचकहरू थिए। ती सङ्गठनहरू अब पर्दा पछाडि मात्र काम गर्ने वाला थिएनन्। बीजेपी आफ्नो पूर्ण सत्ताको सपनाको नजिक पुग्दै थियो,’ उनले लेखेकी छिन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर