

गाजाको नासिर अस्पतालमा इजरायली आक्रमणको १८ मुस्लिम राष्ट्रद्वारा निन्दा


साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, इजिप्ट, टर्की र पाकिस्तानसहित १८ मुस्लिम बहुल राष्ट्रले गाजास्थित नासिर मेडिकल कम्प्लेक्समा इजरायलले गरेको हवाई आक्रमणको निन्दा गरेका छन्। खान युनिसस्थित नासिर अस्पतालमा भएको उक्त आक्रमणमा एक शल्यचिकित्सक र एक बालकसहित कम्तीमा ६ प्यालेस्टिनीको मृत्यु भएको थियो। मुस्लिम राष्ट्रका विदेशमन्त्रीहरूले संयुक्त वक्तव्य जारी गर्दै आक्रमणले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गरेको र बिरामी तथा स्वास्थ्यकर्मीको जीवन जोखिममा पारेको बताएका छन्। उनीहरूले विस्थापित प्यालेस्टिनीमाथि इजरायलले निरन्तर गरिरहेको आक्रमणको पनि निन्दा गरेका छन्। यस्ता आक्रमणले गाजामा जारी युद्धविरामलाई कमजोर बनाइरहेको उनीहरूको भनाइ छ।
इजरायलले गाजामा मानवीय सहायता सामग्री, औषधि तथा जाडोबाट बच्न आवश्यक अस्थायी आवासका सामग्री प्रवेशमा रोक लगाइरहेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। जाडो मौसम नजिकिँदै गर्दा पर्याप्त आश्रयस्थलको अभाव तथा खानेपानी, सरसफाइ र स्वास्थ्य सेवाको अवस्था बिग्रिँदै जाँदा बालबालिका र शिशुहरू थप जोखिममा पर्ने उनीहरूले चेतावनी दिएका छन्। विदेशमन्त्रीहरूले इजरायललाई युद्धविरामको पालना गर्न, मानवीय सहायता सामग्रीको निर्बाध आपूर्ति सुनिश्चित गर्न र युद्धविराम सम्झौताअन्तर्गत गरेका प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेका छन्। त्यस्तै, उनीहरूले गाजामा प्रवेश गर्ने मानवीय सहायता सामग्रीमाथिको प्रतिबन्ध हटाउन इजरायललाई दबाब दिन अमेरिकी सरकार र बोर्ड अफ पिसलाई पनि आग्रह गरेका छन्।

सम्बन्धित खबर









