

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर यथावत् राखेका छन्। नेपालका २० वाणिज्य बैंकमध्ये १४ वटाले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ६ बैंकले ब्याजदर घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.१५ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ। त्यस्तै, कुमारी बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६१ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ४ प्रतिशतबाट घटाएर ३.९० प्रतिशतमा झारेको छ।
त्यसैगरी, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशतबाट घटाएर ३.५० प्रतिशत, एनएमबि बैंकले ४.५० प्रतिशतबाट घटाएर ३.२५ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेका छन्। कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरूमा एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईएमबि बैंक र एनआईसी एसिया बैंक रहेका छन्।
व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर कात्तिकमा ३.९८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ३.८७ प्रतिशत कायम भएको छ। यससँगै बैंकहरूको औसत ब्याजदरमा ०.११ प्रतिशत बिन्दुले कमी आएको छ। मंसिरका लागि सबैभन्दा बढी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सानिमा बैंकले ४.५० प्रतिशत कायम गरेको छ। त्यस्तै, नेपाल बैंक, प्रभु बैंक र एनआईसी एसिया बैंकले ४ प्रतिशतभन्दा बढी ब्याजदर उपलब्ध गराएका छन्। बैंकहरूले प्रत्येक महिना निक्षेपको ब्याजदर सार्वजनिक गर्दै आएका छन्। मंसिरका लागि सार्वजनिक गरिएको नयाँ ब्याजदर मंसिर १ गतेदेखि लागू हुनेछ।

सम्बन्धित खबर










