

जनकपुर। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले चुनावी घोषणापत्र र नारामा सिमित भएका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्ने समय आएको बताउनुभएको छ। उहाँले जनताले दिएको मतलाई जिम्मेवारीका रूपमा लिँदै मधेससहित देशभरका समस्या प्राथमिकताका आधारमा समाधान गर्न पार्टीले नीतिगत काम अघि बढाउने बताउनुभयो।
सोमवार जनकपुरधाममा पार्टीका सांसद डा. अमरेशकुमार सिंहको मेची-महाकाली पदयात्राका लागि झण्डा हस्तान्तरण कार्यक्रममा बोल्दै लामिछानेले नयाँ कानून निर्माण, विद्यमान कानूनको सुधार तथा नागरिकका हकअधिकार सुनिश्चित गर्ने कामलाई प्राथमिकता दिने बताउनु भयो। उहाँले घोषणापत्रमा धेरै कुरा लेखिए पनि ती प्रतिबद्धतालाई व्यवहारमा उतार्नु मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो।
लामिछानेले मधेस र सिङ्गो देशका समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्नुपर्ने बताउँदै त्यसका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनु भयो। पार्टीको काँधमा ठूलो जिम्मेवारी आएको उल्लेख गर्दै उहाँले काम गर्ने क्रममा कमजोरी भए सच्याएर अघि बढ्ने बताउनु भयो।
सभापति लामिछानेले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले मधेससहित सिङ्गो देशका समस्या पहिचान गरी आवश्यकता र प्राथमिकताका आधारमा नीतिगत सुधार गर्नेछ। नयाँ कानून निर्माण, विद्यमान कानूनको परिमार्जन र नागरिकका हकअधिकार सुनिश्चित गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो। घोषणापत्रका प्रतिबद्धतालाई व्यवहारमा उतार्ने यात्रा शुरु भइसकेको छ। चुनौती आए पनि सम्हालिँदै अघि बढ्छौँ।’

सम्बन्धित खबर










