

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा जय शाह दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । इन्डोनेसियाको बालीमा बसेको आईसीसी बोर्ड बैठकमा निर्देशकहरूले राखेको प्रस्तावअनुसार शाहलाई थप दुई वर्षका लागि अध्यक्षमा निरन्तरता दिने निर्णय भएको हो । आईसीसीले सोमबार उनको पुनर्नियुक्तिको घोषणा गरेको हो । ३८ वर्षीय शाहले न्युजिल्यान्डका ग्रेग बार्कलेको उत्तराधिकारीका रूपमा सन् २०२४ डिसेम्बर १ मा आईसीसी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । पहिलोपटक निर्वाचित हुँदा उनी ३५ वर्षका थिए । उनी आईसीसीको इतिहासकै सबैभन्दा कान्छा अध्यक्ष हुन् । पहिलो कार्यकालका लागि पनि उनी एकमात्र उम्मेदवार थिए ।
शाहको दोस्रो कार्यकालमा सन् २०२८ को लस एन्जलस ओलम्पिकमा क्रिकेटको पुनरागमन प्रमुख एजेन्डा हुनेछ । एक शताब्दीभन्दा लामो अन्तरालपछि ओलम्पिकमा फर्किन लागेको क्रिकेट त्यहाँ टी–२० ढाँचामा खेलाइनेछ । शाहले ओलम्पिकलाई नयाँ दर्शकमाझ क्रिकेट पुर्याउने र नयाँ पुस्ताका खेलाडीलाई आकर्षित गर्ने अवसरका रूपमा लिएका छन् । आईसीसी बोर्डले महिला क्रिकेटको विस्तार र एसोसिएट सदस्यका लागि प्रतिस्पर्धाका अवसर बढाउने प्रतिबद्धता पनि दोहोर्याएको छ ।
बोर्डका अनुसार नयाँ दर्शकसम्म पुग्ने, अन्तर्राष्ट्रिय क्रिकेटको स्वच्छता जोगाउने र खेलको दीर्घकालीन विकास धान्ने व्यावसायिक अवसर विस्तार गर्ने विषय आगामी कार्ययोजनाका प्राथमिकता हुन् । आईसीसीले सदस्यहरूको सहभागिता बढाउन दीर्घकालीन प्रतियोगिता कार्यक्रम पनि विस्तार गरेको जनाएको छ । सन् २००९ मा गुजरात क्रिकेट संघबाट क्रिकेट प्रशासनमा प्रवेश गरेका शाह सन् २०१९ मा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को मानार्थ सचिव बनेका थिए । त्यसपछि उनले एसियाली क्रिकेट परिषद् (एसीसी) को अध्यक्ष र आईसीसीको वित्त तथा व्यावसायिक मामिला समितिको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।

सम्बन्धित खबर










