

बझाङ । बुङ्गल नगरपालिका–१०, टुमेडामा भएको अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । सुरुमा तीन जनाको शव फेला परेकोमा खोजीका क्रममा थप एक बालिकाको शव भेटिएको हो । दुर्घटनामा बुङ्गल–१० की अन्दाजी ३५ देखि ४० वर्षीया राजमति महरा, १५ देखि १६ वर्षीया तारा महरा, पाँचदेखि छ वर्षीया डल्ली महरा र चार वर्षीया रियास महराको मृत्यु भएको छ ।
सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट बुङ्गल–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ह ७९९८ नम्बरको अटो सडकबाट करिब ९०० मिटर तल भीरमा खसेको थियो । प्रारम्भिक विवरणअनुसार अटोको ब्रेक फेल भएको थियो । अटोमा चालकसहित छ जना सवार थिए । अटोमा सवार सोही ठाउँका अन्दाजी १२ देखि १३ वर्षीय विक्रम महरा सकुशल घर फर्किएको प्रहरीले जनाएको छ । प्रहरीले अटो चालक बुङ्गल–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर











