

काठमाडौं । सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन र कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि साताव्यापी ‘राष्ट्रिय कर दिवस’ कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। ‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ मनाउन थालिएको यस साताव्यापी कार्यक्रमअन्तर्गत आज आन्तरिक राजस्व विभागमा विशेष कार्यक्रम आयोजना गरिएको छ। सोही अवसरमा विभिन्न विधा र कारोबार क्षेत्रमा उत्कृष्ट कर योगदान पुर्याउने १९ वटा संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको छ।
विभागअन्तर्गतका अन्य कार्यालयहरूले पनि आ–आफ्नो क्षेत्रका उत्कृष्ट तीन–तीन करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ। साताव्यापी कार्यक्रमका दौरान करदाता सम्मानसँगै प्रभातफेरी, शुभकामना आदानप्रदान, निजी क्षेत्रसँग अन्तरक्रिया र करदाता सचेतनासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछन्। करको दायरा विस्तार, करसम्बन्धी स्किमहरूको कार्यान्वयन, डिजिटल कर सेवाको प्रवर्द्धन र बजारमा बिल लिने–दिने संस्कृतिको विकासका लागि व्यापक प्रचारप्रसार गरिने विभागले जनाएको छ।
काठमाडौँ उपत्यकाका विभिन्न प्रमुख स्थानहरूमा कर सचेतनासम्बन्धी डिस्प्ले बोर्डसमेत राखिएका छन्। यसैगरी, शैक्षिक परामर्श र ओभरसिज कम्पनीहरूलाई लक्षित विशेष कार्यक्रम, उद्योग वाणिज्य संघसँगको सहकार्यमा सचेतना अभियान र स्थानीय तह र कोष तथा लेखा नियन्त्रक कार्यालयका कर्मचारीहरूका लागि राजस्वसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रमहरू पनि सञ्चालन हुनेछन्। करलाई राष्ट्र निर्माणमा नागरिकको प्रत्यक्ष साझेदारीका रूपमा लिँदै कर प्रशासनलाई भ्रष्टाचारमुक्त, सरल र प्रविधिमैत्री बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइएको छ।

सम्बन्धित खबर











