

जेफ्री एपस्टिनको मृत्यु आत्महत्या नभई हत्या भएको फोरेन्सिक विज्ञहरूको दाबी


फोरेन्सिक विज्ञहरूको टोलीले जेफ्री एपस्टिनको २०१९ को मृत्यु आत्महत्या नभई पछाडिबाट घाँटी थिचेर गरिएको हत्या भएको निष्कर्ष सार्वजनिक गरेको छ। यूसीएलमा सोमबार गरिएको प्रस्तुति र पोस्टमार्टम पुनर्निर्माणले एपस्टिनका चोटहरू झुण्डिएको नभई आक्रमण र सङ्घर्षसँग मेल खाने देखाएको छ। न्युयोर्कको मुख्य चिकित्सा परीक्षकको कार्यालयले सीएनएनलाई एपस्टिनको मृत्यु आत्महत्या नै भएको आफ्नो पूर्वनिर्णयमा अडिग रहेको बताएको छ।
कुख्यात यौन अपराधी तथा फाइनान्सर जेफ्री एपस्टिनको सन् २०१९ मा हिरासतमै भएको मृत्यु आत्महत्या नभई हत्या भएको निष्कर्ष फोरेन्सिक विज्ञहरूको एक टोलीले सार्वजनिक गरेको छ। सोमबार लन्डनमा फोरेन्सिक विज्ञहरूले एपस्टिन झुण्डिएर मरेको कुनै प्रमाण नभेटिएको र उनलाई पछाडिबाट घाँटी थिचेर मारिएको दाबी गरेका छन्। यो निष्कर्षले न्युयोर्क सहरको मुख्य चिकित्सा परीक्षकको कार्यालयको आधिकारिक प्रतिवेदनलाई प्रत्यक्षको चुनौती दिएको छ।
लन्डन प्रस्तुति र पोस्टमार्टम पुनर्निर्माणका मुख्य निष्कर्षहरू लन्डनस्थित युनिभर्सिटी कलेज लन्डन (यूसीएल) मा सोमबार आयोजित उक्त प्रस्तुति फोरेन्सिक मेडिसिन इपिडिमियोलोजीका विद्वान तथा सल्लाहकार माइकल फ्रिम्यान, स्विडेनको उमिया विश्वविद्यालयका फोरेन्सिक प्याथोलोजिस्ट तथा प्राध्यापक एन्डर्स एरिक्सन र स्नायुवैज्ञानिक इटिएल ड्रोरले संयुक्त रूपमा तयार पारेका हुन्। सम्पूर्ण पोस्टमार्टम फाइलको समीक्षा र घटनास्थलको बायोमेकानिकल रिकन्स्ट्रक्सन पूरा गरेपछि विज्ञहरूले एपस्टिनका चोटहरू झुण्डिएको नभई आक्रमण र सङ्घर्ष (असोल्ट एन्ड स्ट्रगल) सँग मेल खाने बताएका छन्।
प्रस्तुतिमा भनिएको छ, ‘घाँटीमा देखिएका डामहरू पछाडिबाट कपडाको साँघुरो गाँठो पारिएको पासो प्रयोग गरी गरिएको हत्या गर्ने नियतले गरिएको घाँटी थिचाइ (होमिसाइडल स्ट्र्याङ्गुलेसन) सँग सबैभन्दा बढी मेल खान्छन्।’ विज्ञहरूका अनुसार, एपस्टिनको शरीर अन्य भागमा खासै नीलडाम वा चोटहरू थिएनन्। तर घाँटी, बायाँ काँधको भित्री तन्तु र ढाडमा देखिएका केही चोटहरूलाई आत्महत्याको झुण्डाइले व्याख्या गर्न नसक्ने फ्रिम्यानले औँल्याएका छन्।
२०१९ को रहस्यमय मृत्यु र षड्यन्त्रका सिद्धान्तहरू सन् २०१९ अगस्ट १० मा न्युयोर्क सहरको ‘मेट्रोपोलिटन करेक्सनल सेन्टर’ को एक कोठामा एपस्टिन मृत फेला परेका थिए। त्यतिबेला उनी ‘सुसाइड वाच’ अर्थात् आत्महत्या रोक्न विशेष निगरानीमा राखिएका थिए। एपस्टिनको मृत्युको एक हप्तापछि आत्महत्याको आधिकारिक निष्कर्ष सार्वजनिक हुँदा उनका वकिलहरूले असन्तुष्टि व्यक्त गर्दै जेल प्रशासनमाथि थप छानबिनको माग गरेका थिए। एपस्टिनका भाइ मार्क एपस्टिनले स्वतन्त्र समीक्षाका लागि उपलब्ध गराएका पोस्टमार्टम फाइल र तस्बिरहरूको अध्ययनपछि यो नयाँ विश्लेषण बाहिर आएको हो।
यसअघि अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई) र न्याय मन्त्रालयको महानिरीक्षकको कार्यालय (इन्स्पेक्टर जनरल) दुवैले एपस्टिनको मृत्युको परिस्थितिको छानबिन गरेका थिए। सोमबारको निष्कर्षले एपस्टिनको मृत्यु आत्महत्या हो भन्ने विषयमा अमेरिकामा व्याप्त जनसङ्का र षड्यन्त्रका सिद्धान्तहरूलाई पुनः सतहमा ल्याइदिएको छ। न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा हत्याका घटनाहरूको विश्लेषण गर्ने फोरेन्सिक वैज्ञानिक फ्रिम्यानले एपस्टिनको हत्या कसले गर्यो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको र त्यसमा चासो पनि नरहेको बताए। उनले मृत्युको अनुसन्धान र पोस्टमार्टम प्रतिवेदनमा भएका लापरबाहीमा मात्र आफ्नो ध्यान केन्द्रित रहेको उल्लेख गर्दै भने, ‘मेरो एउटै चासो के हो भने – यो अनुसन्धान कसरी यति धेरै बाटो बिराएर गलत दिशामा गयो?’
यौन तस्करीको आरोप र सार्वजनिक भएका लाखौँ सरकारी दस्ताबेजहरू सन् २०१९ मा एपस्टिनमाथि दर्जनौँ नाबालिग बालिकाहरूको यौन शोषण गर्ने यौन तस्करी सञ्जाल सञ्चालन गरेको गम्भीर अभियोग लगाइएको थियो। सन् २००२ देखि २००५ को बिचमा उनले १४ वर्षसम्मका कलिला बालिकाहरूलाई सयौँ डलर नगद दिएर न्युयोर्कको अपर इस्ट साइडस्थित घर र फ्लोरिडाको पाम बिचस्थित निवासमा यौन सम्पर्क राख्न बाध्य पारेको आरोप थियो। गत वर्षभरि शृङ्खलाबद्ध रूपमा एपस्टिनसँग सम्बन्धित गोप्य फाइलहरू सार्वजनिक गरिएका छन्। विशेष गरी गत नोभेम्बरमा अमेरिकी कङ्ग्रेसले पारदर्शिता र सबै दस्ताबेज सार्वजनिक गर्न बाध्यकारी कानुन पारित गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले न्याय मन्त्रालयमार्फत लाखौँ इमेल, टेक्स्ट मेसेज, तस्बिर र अन्य दस्ताबेजहरू सार्वजनिक गरेको थियो।

सम्बन्धित खबर









