Skip to main content

गोल्छा समूहले किओचलाई ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्यो

नेपालको प्रतिष्ठित औद्योगिक र व्यावसायिक समूह गोल्छा समूहले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ। बुधबार आयोजित एक कार्यक्रममा बालबालिकाका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले यो आर्थिक सहयोग गरिएको हो। गोल्छा समूहका अध्यक्ष शेखर गोल्छाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानमा संलग्न हुन पाउँदा गर्वको अनुभूति भएको बताए।

सम्झौतामा गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच हस्ताक्षर भएको छ। गोल्छाले भने, ‘हाम्रो फाउन्डेसनद्वारा गरिने सामाजिक उत्तरदायित्व अन्तर्गत आजदेखि किओचसँग सहकार्य सुरु भएकोमा हर्षित छौं। यो सहकार्य भविष्यमा पनि निरन्तर रहनेछ र बाल अस्पतालमार्फत बालबालिकाहरूलाई सहज उपचार तथा गुणस्तरीय स्वास्थ्य सेवा अझ प्रभावकारी हुनेमा विश्वास छ।’

किओचका संस्थापक अध्यक्ष कोइरालाले गोल्छा समूहको सहयोगको लागि आभार व्यक्त गर्दै भने, ‘यस सहयोगबाट हजारौं बालबालिकाले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेछन् र सातै प्रदेशमा भइरहेको बाल अस्पताल निर्माणमा ठूलो सहयोग पुग्नेछ।’ हाल कोशी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौंमा अस्पताल सञ्चालनमा छन्। किओचको स्थापना मुलुकका बालबालिकालाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भएको हो। गोल्छा समूह नेपालकै सबैभन्दा पुरानो र अग्रणी व्यावसायिक समूहहरूमध्ये एक हो। यसले नेपालमा औद्योगिकीकरणको सुरुवात गर्दै देशको पहिलो उद्योग स्थापना गर्ने गौरवपूर्ण इतिहास बोकेको छ।