Skip to main content

जगदुल्ला जलविद्युत आयोजनाको ‘ए’ प्रसारण लाइनमा जडान गर्न सहमति

१९ चैत, जाजरकोट। जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादित १२४.३५ मेगावाट विद्युत् ४०० केभी प्रसारण लाइनमा जडान गर्ने विषयमा सहमति भएको छ। जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडबीच जगदुल्ला–ए आयोजनाबाट उत्पादित १२४.३५ मेगावाट विद्युत् निकासीका लागि सहमति भएको आयोजना प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए। डोल्पा र जाजरकोटको सीमा क्षेत्रमा, मुड्केचुला गाउँपालिका–४ डोल्पा र नलगाड नगरपालिका–१३ क्षेत्रमा उक्त आयोजना निर्माण गरिनेछ। प्रारम्भमा ८२.३ मेगावाट क्षमतामा निर्माण गर्ने प्रस्ताव भए पनि योजना क्षमता बढाएर १२४.३५ मेगावाटमा निर्माण गर्ने तयारीमा लागिएको उनले बताए।

कम्पनीले यस आयोजनालाई पिकिङ रन अफ द रिभर प्रकृतिमा विकास गर्न लागेको छ। कम्पनीका अनुसार, हालसम्म आयोजनाको पूर्वनिर्माणका लागि सम्भाव्यता अध्ययन र विस्तृत इन्जिनियरिङ अध्ययनसहित अन्य तयारी कार्यहरू पूरा भइसकेका छन्। वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिका लागि प्रक्रियामा छ। २५ अर्ब रुपैयाँको ऋण व्यवस्थापन भइरहेको छ। एनईए इन्जिनियरिङ कम्पनीले विस्तृत अध्ययन गर्न २०२० डिसेम्बरमा सम्झौता गरेको थियो। विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) लगायतका कार्यहरू पूरा गरी आगामी आर्थिक वर्ष २०८३/०८४ देखि आयोजनालाई निर्माण चरणमा लैजान तयारी भइरहेको कम्पनीले जनाएको छ।

कुल ७ किलोमिटरको सुरुङमार्गबाट जगदुल्ला जलविद्युत् आयोजनाको विद्युत् उत्पादनमा निस्कने पानीलाई सिधै डाइभर्सन गरेर नलगाड नगरपालिका–१३ स्थित दामाचौरमा पुर्याएर विद्युत् उत्पादन गरिनेछ। आयोजनाबाट उत्पादित बिजुली १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरी नलगाडको दानीपिपलस्थित ४०० केभी प्रसारण लाइनको सबस्टेसनमा जोड्ने योजना छ। कुल ४ वर्षभित्र निर्माण सम्पन्न गरी व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

४०० केभी प्रसारण लाइन निर्माण गरिने भेरी कोरिडोरमा रहेको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडान गर्न ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ। यो प्रसारण लाइन सुर्खेतको भेरीगंगा नगरपालिका–८ मैनतडा र जाजरकोटको नलगाड नगरपालिका–७ दानीपिपल क्षेत्रमा निर्माण हुनेछ। करिब ७५ किलोमिटर लामो उक्त प्रसारण लाइन निर्माणका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले बताए। मैनतडा र दानीपिपलमा जमिन अधिग्रहणको काम पूरा भइसकेको छ। करिब ८ अर्ब रुपैयाँमा प्रसारण लाइन निर्माण हुने आकलन गरिएको छ। यस्तै, ६ अर्ब रुपैयाँ लागतमा दानीपिपल र मैनतडामा सबस्टेसन निर्माण गर्ने तयारी रहेको उनले जानकारी दिए। दानीपिपल लगायतका सबस्टेसन निर्माण कार्य सुरु गरी ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। प्रारम्भको नलगाड सबस्टेसन दानीपिपलमा र अन्तिम बिन्दु सुर्खेतको मैनतडा सबस्टेसनमा हुनेछ। सन् २०२३ डिसेम्बरमा निर्माण थाल्ने र सन् २०२७ नोभेम्बरसम्म सक्ने लक्ष्य भए पनि आर्थिक व्यवस्थापनमा ढिलाइ हुने कारण आयोजना निर्माणमा केही ढिला भएको जानकारी दिइएको छ।