Skip to main content

गुगल वालेटमा नयाँ रङ्गीन पास र कार्डहरूको इन्टरफेस परिवर्तन हुँदैछ

गुगलले आफ्नो डिजिटल वालेट एप ‘गुगल वालेट’ को नयाँ रङ्गीन इन्टरफेसको परीक्षण सुरु गरेको छ। नयाँ भर्सन (v26.12.88) मा पास, मुभी टिकट र लोयल्टी कार्डहरूको डिजाइनमा ठूलो परिवर्तन गरिएको छ। नयाँ इन्टरफेसमा पासको नाम, नम्बर, मिति र सेटिङका सर्टकटहरू पहिलो पृष्ठमा देखिनेछन् र प्रयोगकर्ताले मनपर्ने कार्डहरू राख्न सक्नेछन्।

गुगल वालेटलाई अझ आकर्षक र प्रयोगकर्तामैत्री बनाउनका लागि यो परिवर्तन गरिएको हो। एन्ड्रोइड अथोरिटीका अनुसार, गुगलले व्यक्तिगत पासहरूको लागि ‘मटेरियल ३ एक्सप्रेसिभ’ डिजाइन शैली अपनाउने तयारी गरेको छ। परिवर्तनहरूमा रङ्गीन पृष्ठभूमि मुख्य रहेको छ, जसले एपलाई पहिलेभन्दा बढी आधुनिक देखाउनेछ। नयाँ इन्टरफेसमा कुनै पनि पास खोल्दा त्यसको नाम, नम्बर, कार्ड थपिएको मिति र सेटिङका सर्टकटहरू पहिलो पृष्ठमा नै देखिनेछन्।

प्रयोगकर्ताले बारम्बार प्रयोग गर्ने पासहरूलाई ‘स्टार’ आइकनमार्फत मनपर्नेमा राख्न सक्नेछन्, जसले ती कार्डहरू छान्न सजिलो बनाउनेछ। पास वा टिकटको फोटोले अब स्क्रिनको माथिल्लो आधा भाग ओगट्नेछ, जसले स्क्यान वा विवरण हेर्न अझ स्पष्टता दिनेछ। हाल यो नयाँ डिजाइन केही सीमित प्रयोगकर्तामाझ मात्रै परीक्षण भइरहेको छ र सर्वसाधारणका लागि उपलब्ध हुन केही समय लाग्न सक्छ। गुगलले वालेटलाई केवल पेमेन्ट एप मात्र नभई सम्पूर्ण डिजिटल लाइफस्टाइल एप बनाउन यी परिवर्तनहरू गर्दैछ।