Skip to main content

नेपाल एयरलाइन्सले तीन दिन दुबई र दमाममा विशेष उडान संचालन गर्ने

नेपाल वायुसेवा निगमले ३ देखि ५ अप्रिलसम्म पश्चिम एसियामा विशेष उद्धार उडान संचालन गर्नेछ। परराष्ट्रमन्त्री शिशिर खनाको निर्देशनपछि नेपाल वायुसेवा निगमले विशेष उडान संचालन गर्न लागेको हो। पश्चिम एसियामा विद्यमान तनावका कारण नियमित उडानहरू २८ फेब्रुअरीदेखि स्थगित छन् भने राष्ट्रिय बीमा कम्पनीले बीमा सहयोग पनि गरेको छ।

नेपाल वायुसेवा निगमले पश्चिम एसियामा विशेष उडान संचालन गर्ने योजना बनाएको छ। शुक्रबारदेखि ३ दिनसम्म (३ देखि ५ अप्रिलसम्म) विभिन्न क्षेत्रमा विशेष उडानहरू सञ्चालन गरिनेछन्। पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको उद्धार र आवागमन सहज बनाउनका लागि ती उडानहरू जारी गरिने तयारी छ। ३ अप्रिलमा काठमाडौं–दुबई, ४ अप्रिलमा दुबई–काठमाडौं, र ५ अप्रिलमा काठमाडौं–दमाम तथा दमाम–काठमाडौंका उडानहरू तय गरिएका छन्।

त्यस क्षेत्रमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन र गन्तव्य देशमा जान नपाएको अवस्थामा उनीहरूलाई गन्तव्यसम्म पुर्याउन विशेष उडान संचालन गरिने सरकारले जनाएको छ। परराष्ट्रमन्त्री शिशिर खनाको संयोजकत्वमा चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमका उच्च पदस्थ अधिकारीहरूको बैठक भएको थियो।

उक्त बैठकमा पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको उद्धार तथा आवागमनलाई सहज बनाउने र आवश्यक हवाई सेवा संचालन गर्ने विषयमा छलफल भएको थियो। परराष्ट्रमन्त्रीको निर्देशनपछि नेपाल वायुसेवा निगमले विशेष उडानहरू सञ्चालन गर्न लागेको हो। पश्चिम एसियामा जारी तनाव र असुरक्षा अवस्थाका कारण त्यहाँका नियमित उडानहरू २८ फेब्रुअरीदेखि स्थगित छन्। उडानहरूका लागि आवश्यक बीमा व्यवस्था मिलाउने कार्यमा राष्ट्रिय बीमा कम्पनीले सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।