‘शोले’ निर्देशक रमेश सिप्पीः नेपाली चलचित्रमा नेपालीपनको संरक्षण अनिवार्य छ

समाचार सारांश भारतीय फिल्म ‘शोले’ का निर्देशक रमेश सिप्पी हाल काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवका विशेष पाहुना रूपमा उपस्थित छन्। सिप्पीले ‘शोले’लाई मात्र सफल फिल्म नभई सांस्कृतिक सांकेतिक घटना बनाएको र यसले भारतीय फिल्म उद्योगको स्तरमा नयाँ आयाम थपेको बताउनुभयो। सिप्पीले नेपाली फिल्म उद्योगको भविष्य उज्जवल रहेको र नेपाली फिल्म निर्माताहरूले नेपालीपनलाई जोगाउनु अत्यावश्यक रहेको व्यक्त गर्नुभयो।
काठमाडौं । भारतीय सिनेमाको प्रभावशाली र चर्चित फिल्म ‘शोले’ का निर्देशक रमेश सिप्पी हाल नेपाली राजधानी काठमाडौंमा हुनुहुन्छ। उनी नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) का विशेष पाहुना भएर आएका हुन्। यो सिप्पीको तेस्रो नेपाल भ्रमण हो। उनले ‘शोले’लाई सामान्य कथा भन्दा माथि उठाएर एक अनुभव झैँ प्रस्तुत गर्नुभएको छ। कथावाचन शैलीलाई फरक ढंगले विकास गर्दै हरेक पात्रलाई गहिराईमा प्रस्तुत गर्न सफल हुनुभएको छ। बलिउडलाई पश्चिमी शैलीमा उपस्थापित गर्दै उनले ‘लार्जर देन लाइफ’ को महत्त्व र छोटा दृश्यमाथि आधारित असर दुवैलाई सन्तुलित रुपमै देखाउनुभएको छ।
सिप्पीको निर्देशनले ‘शोले’लाई मात्र सफल फिल्म नभई एक सांस्कृतिक घटना बनाएको थियो, जसले भारतीय फिल्मको मापदण्ड नै परिवर्तन गराएको छ। ७९ वर्षिय सिप्पीले पत्रकार विष्णु शर्मासँग ‘शोले’, बलिउड, नयाँ कथावाचन शैली र नेपाली फिल्मको गतिशीलताबारे चर्चा गर्नुभएको थियो।
सिप्पीले भन्नुभयो, “मेरो लागि ‘शोले’ मात्र एकपटक बन्ने फिल्म हो, त्यो अन्तिम भयो। म फेरि त्यो बनाउन चाहन्न। यदि आज बनाउनु पर्थ्यो भने, मलाई थाहा छैन कसरी कास्ट गर्ने थिएँ। किनभने त्यो समयमा मैले जस्ता कलाकारहरू पाएँ, त्यो आफैंमा अनौठो घटना थियो। आज पनि उत्कृष्ट कलाकारहरू छन्, तर अहिलेको अवस्थालाई हेर्दा पात्र निर्धारण गर्नु निकै चुनौतीपूर्ण छ।”






