
जेनेभा विश्वविद्यालयका वैज्ञानिकहरूले शरीरभित्र एउटा सानो कम्प्युटरझैं कार्य गर्ने ‘स्मार्ट’ औषधि प्रणाली विकास गरेका छन्। सिन्थेटिक डीएनएबाट बनेको यो औषधिले क्यान्सरका कोषिकाहरूलाई मात्र नष्ट गरी स्वस्थ कोषिकाहरूलाई सुरक्षित गर्छ। यो अनुसन्धान हालै प्रतिष्ठित वैज्ञानिक जर्नल ‘नेचर बायो टेक्नोलोजी’मा प्रकाशित भएको छ।
यो प्रणालीले कम्प्युटरको ‘लजिक गेट’ सिद्धान्तमा आधार गरी काम गर्छ। डिजिटल बैंकिङको ‘टु–फ्याक्टर अथेन्टिकेसन’ जस्तै, यो औषधि पनि त्यसैगरी सक्रिय हुन्छ: डबल स्विच प्रणाली। औषधिमा फरक–फरक डीएनएका रेखाहरू हुन्छन्। जब यसले क्यान्सर कोषिकाको सतहमा रहेका दुईवटा विशिष्ट ‘मार्कर’ पत्ता लगाउँछ, तब मात्र यो सक्रिय हुन्छ। यदि दुईमध्ये एउटा मात्र संकेत भेटियो वा संकेत नै भेटिएन भने, औषधि निष्क्रिय रहन्छ। यसले गर्दा क्यान्सर नभएका स्वस्थ कोषिकाहरू सुरक्षित रहन्छन्।
क्यान्सर कोषिका भेटिने बित्तिकै यसले चेन प्रतिक्रियाको सुरुवात गर्छ, जसले ट्युमर भएको स्थानमा औषधिको मात्रा वृद्धि गरी उपचारलाई अझ प्रभावकारी बनाउँछ। परम्परागत केमोथेरापीले क्यान्सरसँगै स्वस्थ कोषिकालाई पनि नष्ट गर्दा यो स्मार्ट औषधिले स्वस्थ भागमा कुनै असर गर्दैन। यसले एकैसाथ धेरै प्रकारका औषधि लिएर जान सक्छ, जसले क्यान्सरले औषधिविरुद्ध विकास गर्ने प्रतिरोधी क्षमतालाई पराजित गर्न सहयोग पुर्याउँछ।
यस अध्ययनका प्रमुख लेखक प्रोफेसर निकोलस विन्सिन्जरका अनुसार, अब नयाँ औषधि डिजाइन गर्न कम्प्युटर र एआईको सहयोग लिनुपर्ने झन्झट समाप्त भएको छ। यो औषधि आफैंले जैविक संकेत बुझ्ने र त्यसअनुसार बुद्धिमानीपूर्वक प्रतिक्रिया दिने क्षमता राख्छ। यो प्रविधिले भविष्यमा ‘पर्सनलाइज्ड मेडिसिन’को नयाँ ढोका खोल्नेछ। वैज्ञानिकहरूले यसलाई थप परिष्कृत बनाउँदै, अझ जटिल ‘स्मार्ट’ औषधि बनाउन काम गरिरहेका छन्, जसले शरीरभित्रै निर्णय लिन सक्नेछ।






