
ग्यासको मूल्य र माग बढेसँगै वैज्ञानिक तरिकाले ग्यास बचत गर्न सकिन्छ जसले इन्धन खपत ५० प्रतिशतसम्म घटाउँछ। ग्यासको बढ्दो मूल्य र मागले सबैमा समस्या उत्पन्न गरिरहेको छ। यद्यपि, केही बुद्धिमानीपूर्ण तरिकाहरू अपनाएर ग्यासलाई दुई गुना लामो समयसम्म चलाउन सकिन्छ। ग्यास बचाउने केही वैज्ञानिक र प्रभावकारी उपायहरू छन्, जसले इन्धनको खपत लगभग ५० प्रतिशतसम्म घटाउन सक्छन्। धेरैजसो मानिसहरूले अनजानीमा नै गलत बर्नर प्रयोग गर्ने वा खुला भाँडामा खाना पकाएर ठूलो मात्रामा ग्यासको अपव्यय गर्छन्। प्रेसर कुकरको सही प्रयोग गर्ने, दालहरू भिजाउने, बर्नर नियमित सफा गर्ने जस्ता साना परिवर्तनहरूले ग्यास मात्र बचाउँदैन, खाना पकाउने समय पनि धेरै घटाउँछ। यी १० सुझावहरूले भान्सालाई स्मार्ट र किफायती बनाउन सहयोग पुर्याउँछन्।
१. प्रेसर कुकरको बढी प्रयोग गर्नुहोस्: खाना पकाउन प्रेसर कुकर सबैभन्दा उत्तम विकल्प हो। दाल र कडा तरकारीहरू खुला भाँडामा पकाउँदा ग्यास धेरै खर्च हुन्छ। कुकरभित्रको दबाबले खानालाई छोटो समयमा पकाउँछ। कुकरलाई सही तरिकाले प्रयोग गर्दा खाना ४० प्रतिशतदेखि ७० प्रतिशतसम्म छिटो पक्छ। यसले ग्यास बचत मात्र गर्दैन, भान्सामा बिताउने समय पनि कम गर्छ।
२. अनाजलाई पहिले नै भिजाउनुहोस्: पकाउने भन्दा पहिले दाल, राजमा, चना, र चामललाई पानीमा भिजाउनु ग्यास बचाउने सबैभन्दा सजिलो तरिका हो। भिजाएपछि दानाहरू नरम हुन्छन् र ताप पाएपछि छिटो पक्न थाल्छन्। उदाहरणका लागि, राजमालाई रातभर भिजाउँदा यो कम समयमा पक्छ। भिजाएका अनाज पकाउँदा ३० देखी ५० प्रतिशतसम्म इन्धन बचत हुन्छ। यसले ग्यास बचाउनुका साथै अनाजका पोषक तत्वहरू पनि सजिलै ग्रहण गर्न सहयोग पुर्याउँछ।
३. बर्नर र भाँडाको जोडी मिलाउनुहोस्: सानो भाँडाका लागि ठूलो बर्नर बाल्ने गल्ती धेरैले गर्छन्, जसले आगो भाँडाको किनारबाट बाहिर निस्कि ग्यास नस्ट हुन्छ। सानो भाँडो भए सानो बर्नर मात्र प्रयोग गर्नुपर्छ। ग्यासको आगो सधैं भाँडाको तलको क्षेत्र भित्रमै रहनुपर्छ। ठूलो बर्नर भारी कुकर वा ठूलो भाँडाको लागि मात्र प्रयोग गर्नुपर्छ। सही सन्तुलनमा राख्दा ग्यास बचत हुन्छ।
४. छोपेर पकाउनुहोस्: खुला भाँडामा खाना पकाउनु ग्यासको सबैभन्दा ठूलो बर्बादी हो किनकि बाफसँगै ताप पनि बाहिर निस्कन्छ। सधैं कराही वा डेक्चीमा ढक्कन लगाएर खाना पकाउनुपर्छ। ढक्कनले भाँडाभित्र बाफको दबाब बनाउँछ र ताप भित्र नै रहन्छ, जसले गर्दा खाना छिटो पक्छ। यसले २० देखि ३० प्रतिशतसम्म इन्धन बचत गर्छ र खानालाई नरम र स्वादिलो बनाउँछ।
५. तरकारीहरूलाई साना टुक्रामा काट्नुहोस्: तरकारी काट्ने तरिका पनि ग्यास बचतमा प्रभाव पार्छ। तरकारी जति सानो र समान आकारको टुक्रामा काटिन्छ, उति नै छिटो पक्छ। साना टुक्राहरूको सतह क्षेत्र बढ्छ जसले ताप छिटो भित्र पुग्छ।
६. मल्टीलेयर ‘तह भएको’ कुकरमा एकै पटक धेरै कुरा पकाउनुहोस्: यदि तह भएको प्रेसर कुकर छ भने, एकै पटक धेरै सामग्री पकाउने बानी बसाल्नुपर्छ। तल दाल राखेर माथिका डिब्बामा चामल वा उमाल्ने तरकारी राख्न सकिन्छ। एकै पटक ग्यास बाल्दा तीन किसिमको खाना तयार हुन्छ, जसले धेरै ग्यास बचत हुन्छ र भाँडा धुने झन्झट पनि कम हुन्छ।
७. बर्नर नियमित सफा गर्नुहोस्: ग्यास बर्नरका प्वालहरूमा फोहोर वा तेल जम्मा हुँदा आगो राम्ररी नआउँछ। ग्यासको आगो पहेँलो वा सुन्तला रङको देखिएमा बुझ्नुपर्छ ग्यास पूरै नबली खेर जान्छ। सधैं निलो आगोले सबैभन्दा राम्रो ताप प्रदान गर्छ। प्रत्येक १५ दिनमा बर्नर ब्रस वा सियोले सफा गर्नुपर्छ।
८. बाँकी तापको प्रयोग गर्नुहोस्: खाना पूरा नपाकदै ५–१० मिनेट अगाडि ग्यास बन्द गर्नुस्। बाक्लो तह भएको भाँडामा यति धेरै ताप जम्मा हुन्छ कि ग्यास बन्द गरेपछि पनि खाना पाकिरहन्छ। जस्तै, चामल वा पास्ता ८० प्रतिशत पकिएपछि ग्यास बन्द गरी ढक्कन लगाएर छोडिदिन सकिन्छ। बाफ र भाँडाको तातोपनले बाँकी काम गर्छ। यसरी महिनामा धेरै ग्यास बचत हुन्छ।
९. बाक्लो र सपाट तह भएको भाँडा प्रयोग गर्नुहोस्: भाँडाको छनोटले पनि ग्यास खपतमा प्रभाव पार्छ। सधैं बाक्लो तह भएको भाँडा प्रयोग गर्नुपर्छ। यस प्रकारका भाँडाहरूले तापलाई समान रूपमा फैलाउँछन् र लामो समयसम्म तातो रहन्छन्। सपाट तह भएका भाँडाले बर्नरको आगोलाई राम्रोसँग सोस्छन्। स्टेनलेस स्टील वा कास्ट आइरनका भाँडाहरू ग्यास बचतका लागि सबैभन्दा उपयुक्त मानिन्छन्।
१०. इलेक्ट्रिक ग्याजेट र ब्याच कुकिङ अपनाउनुहोस्: पानी उमाल्न ग्यासको सट्टा इलेक्ट्रिक कित्ली प्रयोग गर्नु उपयुक्त हुन्छ, यसले बढी किफायती हुन्छ। साथै ब्याच कुकिङ गर्नुपर्छ। ब्याच कुकिङ भनेको एकै पटक दुई–तीन पटकका लागि दाल, चामल वा गेडागुडी पकाएर फ्रिजमा राख्ने तरिका हो। खाना खाने बेलामा मात्र तताउने। यसले बारम्बार ग्यास बाल्नुभन्दा धेरै इन्धन बचत गर्दछ।






