आईटी सेवा खरिदका लागि ३ हजार अमेरिकी डलर बराबरको प्रिपेड कार्ड जारी गर्ने व्यवस्था

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सूचना प्रविधि सेवा खरिदका लागि वार्षिक अधिकतम ३ हजार अमेरिकी डलर बराबरको प्रिपेड कार्ड जारी गर्न अनुमति दिएको छ। विदेशी मुद्रा आर्जन गर्ने आईटी उद्योगलाई अनलाइन सफ्टवेयर सेवा खरिदका लागि वार्षिक १ लाख अमेरिकी डलरसम्मको विदेशी मुद्रा भुक्तानी गर्ने सुविधा प्रदान गरिएको छ। परिवर्त्य विदेशी मुद्राको ऋणलाई नेपाली रुपैयाँमा परिणत गर्ने व्यवस्था केन्द्रीय बैंकले मिलाएको छ, तर ऋण भुक्तानी अवधि लम्ब्याउन नपाइने व्यवस्था गरिएको छ। २२ चैत, काठमाडौं।
बैंक तथा वित्तीय संस्थाहरुले सूचना प्रविधि (आईटी) सम्बन्धित सेवा खरिदका लागि प्रिपेड कार्ड जारी गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले आइतबार निर्देशन जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई ३ हजार अमेरिकी डलर बराबरको कार्ड जारी गर्ने व्यवस्था गरेको हो। केन्द्रीय बैंकका अनुसार सूचना प्रविधि, सञ्चार प्रविधि तथा सूचना प्रसारणका आधारमा सञ्चालन हुने उद्योगहरुले अनलाइन मार्फत सफ्टवेयर लगायत आईटी सँग सम्बन्धित सेवा खरिद गर्न वार्षिक अधिकतम ३ हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रामा प्रिपेड कार्ड जारी गर्न सक्नेछन्।
तर सेवा निर्यात गरी विदेशी मुद्रा आय आर्जन गर्ने अवस्थामा मुद्रा सटहीको वार्षिक सीमा विदेशी मुद्रा आर्जन रकम समेत जोडेर बढीमा ५ हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा हुनेछ। विदेशी भ्रमणका लागि भिसा प्रयोजनको धरौटी माग गरेमा ‘क’ वर्गका बैंक तथा राष्ट्रिय ‘ख’ वर्गका विकास बैंकहरुले विभिन्न सर्तमा इलेक्ट्रोनिक कार्ड जारी गरी सटही सुविधा प्रदान गर्नेछन्। आवेदकले सम्बन्धित देशको भिसा प्रदान गर्ने निकाय वा संस्थाले जारी गरेको धरौटी माग गरिएको प्रमाणित कागजातसहित निवेदन दिनुपर्ने छ।
५ हजार अमेरिकी डलरभन्दा बढीको परिवर्त्य विदेशी मुद्रा माग गर्ने आवेदकको स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था पनि केन्द्रीय बैंकले गरेको छ। अनलाइन मार्फत विदेशी मुद्रा आय आर्जन गर्ने नेपाली नागरिकले आईटी सेवा खरिदका लागि वार्षिक २५ हजार अमेरिकी डलरसम्मको अन्य विदेशी मुद्रामा बैंकिङ उपकरणमार्फत भुक्तानी गर्न सक्नेछन्। विदेशी मुद्रा आय आर्जन गर्ने आईटी उद्योग वा व्यवसायले मात्र वार्षिक १ लाख अमेरिकी डलर बराबरको अन्य विदेशी मुद्रा अनलाइन सफ्टवेयर लगायत आईटी सेवाहरु खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
परिवर्त्य विदेशी मुद्रामा रहेको ऋण कुनै कारणले ऋणीले विदेशी मुद्रामा कायम गर्न नचाहेको अवस्थामा ऋणदाता बैंक विश्वस्त भएमा त्यस्तो ऋणलाई प्रचलित विनिमय दरमा नेपाली रुपैयाँमा परिणत गर्न सकिनेछ। यसका लागि ऋण भुक्तानी अवधि लम्ब्याउन नपाइनेछ र परिवर्तनपछि कायम हुने ऋणको ब्याजदर अन्य कानुनी व्यवस्थाअनुसार दुई पक्षको सहमतिमा निर्धारण गरिनुपर्ने व्यवस्था गरिएको छ।






