
२२ चैत, बुटवल । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा भैरहवामा सिद्धार्थ रैथाने सडक खाना महोत्सव आयोजना गरिन लागेको छ। होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीले आयोजना गर्ने यो महोत्सव चैत ३० गते सिद्धार्थनगर–३ रंगशाला रोडमा पाँचौं संस्करणका रूपमा संचालन हुँदैछ, आयोजकहरूले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। विभिन्न जातजातिका परम्परागत खानाहरूको संरक्षण गर्ने तथा नयाँ वर्षको अवसरमा भैरहवावासीलाई सांगीतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवमा ८० वटा स्टलहरू सञ्चालन गरिने अध्यक्ष राजेश महोत्राले बताए।
महोत्वसमा विशेष गरी थारु, मगर, गुरुङ लगायतका समुदायका मौलिक खानाका परिकार र कला संस्कृतिलाई प्राथमिकता दिइने महोत्राले जानकारी दिए। भैरहवाका ठूला तथा साना होटलहरूले आफ्ना विशेष ‘सिग्नेचर डिश’ का स्टल राख्नेछन्। एक दिने यो महोत्सवमा करिब ३० हजार दर्शकको सहभागिता रहने र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको छ। महोत्सवलाई अझ आकर्षक बनाउन गायिका सिम्रन परियारसहित स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि हुने कार्यक्रम छ, आयोजकहरूले जनाएका छन्। पत्रकार सम्मेलनमा टुर एण्ड ट्राभल व्यवसायी चन्द्र थापा, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ लुम्बिनी प्रदेश महासचिव गणेशप्रसाद बेल्बासे, सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवाली लगायतले महोत्सवमा भारतीय पर्यटकलाई आकर्षित गर्न सुझावहरू दिएका थिए।






