Skip to main content

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘दृष्टिः समृद्धि, असमानता र सुधारको वर्षौंदेखिका बहस’ पुस्तक सार्वजनिक गरे

नेपाल आर्थिक पत्रकार समाज सेजनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पुस्तक ‘दृष्टिः समृद्धि, असमानता र सुधारको वर्षौंदेखिका बहस’ सार्वजनिक गरेको छ। सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले उक्त पुस्तक विमोचन गरेका हुन्। यस पुस्तकमा ८ वटा गहन लेख समावेश छन्, जसले विगतमा गरिएको आर्थिक सुधारको पक्षमा बहसलाई उजागर गर्छ।

पुस्तकले वि.सं. २०७१ देखि २०८२ सम्म नेपालको आर्थिक स्वरूप, संरचनात्मक सुधार, डिजिटलाइजेशन, स्वच्छ ऊर्जा र पर्यटनलाई मुख्य शक्तिका रूपमा प्रस्तुत गरेको छ। अर्थमन्त्री वाग्लेले भने, “विगतमा उठाइएका आर्थिक सुधारका एजेण्डा पुस्तकमा समेटिएका छन्। पहिले विषय विज्ञका रूपमा सुधारका लागि उठाइएका धेरै कुरा सुन्न सकिएनन्।” उनले सुधारका कामहरू गर्ने प्रतिबद्धता जनाउँदै भने, “अन्ततः राजनीतिमा आएर अहिले तिनै एजेन्डा कार्यान्वयन गर्ने कार्यकारी भूमिकामा छु।”

पुस्तकमा दक्षिण एसियाली देशहरूबीच व्यापार लागत, संघीयताको आर्थिक सबलीकरण, मिलिभगतको पूँजीवादको अन्त्य र अन्तर्राष्ट्रिय सहायताको फेरिँदो स्वरूपजस्ता गम्भीर विषयहरू समेटिएका छन्। यसले नेपालको उत्पादकत्वको कमीको कुरा उठाउँदै, “सानातिना सुधार मात्र पर्याप्त नहुने र व्यापक संरचनात्मक सुधार आवश्यक रहेको” उल्लेख गरेको छ।

सेजन अध्यक्ष भागवत भट्टराईले यो पुस्तक प्रकाशन गर्ने मुख्य उद्देश्य अर्थमन्त्रीको सोच र नेपालको अर्थतन्त्रप्रति दृष्टिकोणलाई आम नागरिक र सरोकारवालासम्म पुर्‍याउनु रहेको बताए। साथै यसले पत्रकारहरूलाई अर्थमन्त्रीको नीति र व्यवहारको मूल्याङ्कन गर्न सहयोग पुर्‍याउने पनि उनले बताए।